मन्त्रीले महिलाहरुलाई कम आँकेपछि...
साठी जना सहसचिव पुस ४ गते एकसाथ सरुवामा परे । क्याबिनेटको उक्त निर्णयबारे आफू बेखबर भएको गुनासो गर्न थाले गृहमन्त्री ओमप्रकाश अर्यालले । यसबापत सचिव रामेश्वर दंगाललाई सरुवा गरिदिए भने कर्मचारी प्रशासनका सहसचिव कालीप्रसाद पराजुलीलाई कार्यकक्षमा बोलाएर हप्कीदप्की गर्न थाले ।
उता, निजी सचिव परशुराम पोखरेलमार्फत मुख्यसचिव सुमनराज अर्यालसँग सरुवाप्रति आपत्ति जनाइरहे । आफूसँग नसोधी १३ जना प्रजिअको सरुवा गरेको र सात जना सहसचिव गृहमा भित्र्याएको भन्ने उनको गुनासो छ । यसैमा गृहसचिव दंगाल र सहसचिव पराजुलीले प्रधानमन्त्री सुशीला कार्की, सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, मुख्यसचिव सुमनराज अर्याल र संघीय सचिव चन्द्रकला पौडेलसँग कुरा गर्न सल्लाह दिए ।
‘संघीयका सचिव र कर्मचारी प्रशासन महाशाखा प्रमुख महिला हुन् । उनीहरूले कसैको कुरा सन्दैनन् ।’ गृहकै एक सहसचिवले भनेका थिए, ‘सचिव चन्द्रकला पौडेल र सहसचिव पार्वती शर्मालाई बोलाएर कुरा गरिस्योस् न हजुर ।’‘महिलाहरू कति जान्ने भएका ?’ गृहमन्त्री अर्याल बम्किए, ‘उहाँहरू मन्त्रीभन्दा पनि माथि हुनुहुँदोरहेछ, कति ठालु भएको !’ मुख्यसचिव सुमनराज अर्यालले प्रक्रिया मिचेर सरुवा नभएको ब्रिफिङ गरे ।
यस्तैमा गृहमन्त्रीको कार्यकक्षमा यी सबैजना भेला भए । मन्त्री कड्किए, ‘तपाईंहरू महान हुनुहुँदो रहेछ, मन्त्रीलाई सोधखोज गर्नु छैन, सल्लाह गर्नु छैन ।’ भन्दै थिए, ‘चुनावको तयारी गर्नु छ, मन्त्रीले केही सोचेको होला, सहयोग गर्नुपर्छ भन्ने लाग्दैन ? कसरी यस्तो निर्णय गर्न सक्नुभयो ? के मलाई हेपेको हो ? तपाईंहरू हो सरकार ? तपाईंहरूले गरेको गल्तीको जिम्मेवारी मैले लिनुपर्ने ?’
‘मन्त्रीज्यू, यो त मन्त्रिपरिषद्ले गरेको निर्णय हो ।’ सचिव चन्द्रकला बोलिन्, ‘गृह मन्त्रालय छाडेर जान चाहनेहरूलाई मात्र निकालेका छौं र सिनियरिटीका आधारमा गृहमा पठाएका छौं, प्रक्रिया मिलाएर लिस्टिङ मात्र गरेका छौं, बाँकी हजुरहरू नै भएको मन्त्रिपरिषद बैठकले गरेको हो नि हजुर !’ इलामकी सिडिओ सुनिता नेपाल, सिन्धुपाल्चोकका बन्धु बाँस्तोला, खोटाङका कल्पना श्रेष्ठ र सल्यानका नेत्र सुवेदीले मन्त्रालय छाड्न चाहेको सहसचिव पार्वती शर्माले बताइन् ।
बीचैमा मुख्यसचिवले भने, ‘उहाँहरूले सोधेर, प्रक्रिया मिलाएर नै लिस्ट ल्याउनुभएको हो मन्त्रीज्यू !’तीनै जनाको कुरा सुनेपछि गृहमन्त्री फेरि बोले, ‘मन्त्रालयबाट बाहिरिन चाहेको कुरा गर्नुभयो, पख्नुहोस् म तपाईंहरूकै अगाडि सोध्छु ।’ त्यसपछि उनले सरुवा भएका प्रमुख जिल्ला अधिकारीहरूलाई फोन लगाउन थाले । ती सबैले अरु मन्त्रालय वा प्रदेशमा जान चाहेको र सोहीबमोजिम नाम टिपाएको बताए । अघिसम्म जंगिएका मन्त्री त्यसपछि बल्ल शान्त भए । ‘एकछिनसम्म खाउँलाझैँ गरी प्रस्तुत हुनुभएका उहाँ रातो पिरो हुनुभयो, चिटचिट पसिना निस्कियो ।’ सहभागी एकजना कर्मचारीले बताए, ‘महिलाहरू जान्ने भए भनेर हेप्न थाल्नुभएको थियो । आफैं गलत सूचनाको शिकार भएको यथार्थ खुलेपछि लत्याकलुतुक हुनुभयो ।’
‘बाराको सिडिओलाई नचलाउनु । उहाँ त्यहाँ बस्न चाहनुभएको छ, उहाँका विषयमा अन्यत्रबाट पनि दवाव छ, त्यहीं राख्दिनुस् ।’ मन्त्रीले सहसचिव धर्मेन्द्रकुमार मिश्रलाई मन्त्री कात्तिक १८ गते बारा पठाएका थिए । एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत मंसिर ३ गते युवासंघको कार्यक्रममा बारा जान खोज्दा जेनजीका नाममा सिमरा एयरपोर्ट बन्द भएको र सो प्रकरणमा सुरक्षा निकायमाथि प्रश्न उठेको थियो । उता सुधन गुरुङ बारा गएर जेनजीलाई उरालेका थिए । सुधन बारा जाँदा सुरक्षा दिन प्रहरीलाई आदेश दिने यिनै मिश्र हुन् । प्रहरीकै अगाडि सुधनले नेता किसान श्रेष्ठको घरमा तोडफोड गरे । यस्तो बेला सिडिओ मिश्रको भूमिकालाई लिएर प्रश्न उठेको थियो । तिनै मिश्रलाई जोगाउन सुधनले प्रधानमन्त्रीलाई निरन्तर दवाव दिएपछि उनको सरुवा रोकियो र बाँकी ५९ जना सहसचिव ठाउँठाउँमा हाजिर भइसकेका छन् ।
(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू