सुदूरपश्चिममा शीर्ष नेताहरु जोगिने

सुदूरपश्चिममा शीर्ष नेताहरु जोगिने

फागुन २१ गते हुने भनिएको निर्वाचनमा सुदूरपश्चिमका शीर्ष नेताहरु जोगिने देखिएको छ । ०७९ मा सुदूरपश्चिमका १६ क्षेत्रमध्ये कांग्रेसले आठ, तत्कालीन माधव नेपाल नेतृत्वको समाजवादीले तीन, एमालेले दुई, नागरिक उन्मुक्तिले तीन क्षेत्र जितेका थिए । अबको गठबन्धनमा कांग्रेसले आठ, एमाले र नेकपाले चार/चार ठाउँमा उम्मेदवारी पाउने भएका छन् । तालमेलले लेखराज भट्टलाई सहज हुने भएको छ । ०७९ मा कैलाली ४ बाट पराजित भट्ट यसपटक डोटी जाने चर्चा छ । उनी ठाउँ सर्दा उनलाई हराउने वीरबहादुर बलायर कैलाली ४ मा फेरि होमिनेछन् ।

तालमेलअनुसार शेरबहादुर देउवा डडेल्धुराबाटै लड्नेछन् भने अघिल्लो पटक एमालेबाट एकल सिफारिस हुँदा पनि उम्मेदवार बन्न नपाएका डा. भीमबहादुर रावल अछाम– १ बाट उठ्नेछन् । सो क्षेत्रबाट तत्कालीन समाजवादीका शेरबहादुर कुँवर विजयी भएका थिए । विगतमा जसले जहाँ जितेको हो त्यहाँ अडिने नीति बन्दा कञ्चनपुर– १ मा एमालेका तारा लामा तामाङ, क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउद, ३ मा कांग्रेसकै रमेश लेखक उम्मेदवार बन्नेछन् । सो क्षेत्रमा एमालेले डा. दीपकप्रकाश भट्टको एकल नाम पठाएको छ । 

यस्तै, बैतडीमा एमालेका दामोदर भण्डारी, दार्चुलामा कांग्रेसका दिलेन्द्र बडु, बझाङमा भानुभक्त जोशी उम्मेदवार बन्ने चर्चा छ । जोशी तत्कालीन समाजवादीबाट जितेका थिए, अहिले नेकपामा छन् । ०७९ मा अछाम २ बाट  कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका थिए । सो क्षेत्रमा कांग्रेसले अरुलाई नै उठाउने चर्चा छ ।

बाजुरामा एमाले र कांग्रेसबीच उम्मेदबार बन्न निकै कडा संघर्ष छ । त्यहाँ डोटीको क्षतिपूर्ति लिन नेकपाले प्रकाशबहादुर शाहलाई उठाउनसक्छ । डोटीमा एमालेका भट्ट जाने भएकोले बाजुरा नेकपाले लिने चर्चा छ । डोटीमा तत्कालीन समाजवादीबाट जितेका प्रेमबहादुर आले रास्वपातिर जाने तयारी छ । उनी रास्वपाबाट सके डोटी नत्र कैलालीबाट लड्ने तयारीमा छन् ।

०७९ मा नागरिक उन्मुक्तिले जितेको कैलाली १, २ र ३ लाई भने तीन पार्टी भाग लाग्ने सम्भावना छ । त्यसअनुसार १ मा कांग्रेसका रामजनम चौधरी, २ मा एमालेका झपट रावल वा महादेव बजगाईं र ३ मा नेकपाका वीरमान चौधरी उठ्ने छन् । कैलाली ५ मा भने डा. आरजु राणाको चर्चा छ । ०७९ मा सो क्षेत्रबाट कांग्रेसकै डिल्लीराज पन्तले जितेका थिए । आरजु बर्दिया जाने सम्भावना पनि छ, त्यसो हुँदा कांग्रेसलाई गतिलो उम्मेदवारको खाँचो पर्ने देखिन्छ । सुपमा तीन पार्टी मिले पनि, नमिले पनि रास्वपाले कतै जित्ने सम्भावना देखिँदैन । बरु रास्वपाले मत काट्दा एमाले जित्ने भनिएको ठाउँमा कांग्रेस र कांग्रेस जित्ने भनिएको ठाउँमा एमाले जित्ने सम्भावना रहन्छ ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू