ओलीको कुटी

ओलीको कुटी

– सिंहराज

बालकोट निवासी कमरेड केपी शर्मा ओलीको स्थायी बसोवास अब गुण्डुमै हुने भएको छ । निर्माण गर्न लागिएको घरको शिलान्यास पनि सकिएको छ । घरको नाम हो– ओली कुटी ।

ओलीको लागि घर बनाउनु कुनै ठूलो कुरा होइन । उहाँले चाहनुभयो भने यस्तो घर हरेक महिना एक गोटाका दरले बनाउन सकिन्छ । त्यति ल्याकत उहाँसँग छ । ठूलो कुरा त के हो भने यो घरको नाम जो छ, त्यो ‘ओली कुटी’ भनेर कसरी र किन रहन गयो ? बाहिरबाट हेर्दा त महेश बस्नेत ओली नजिककै मान्छे हुन् जस्तो लाग्छ । तर उनले ओलीलाई लगेर सिधै कुटीमा हाल्ने योजना पो बनाएको देखियो ।

भदौ २४ को जेनजी आन्दोलन र त्यसमा ओलीको हविगत देखेपछि धेरैलाई लागेको थियो, अब कमरेड ओली बस्ने भनेको कुटीमै हो । अरूतिर बस्ने हैसियत उहाँले गुमाइसक्नुभएको छ । अरूलाई त यस्तो लागेको मात्रै थियो । महेश बस्नेतले चाहिँ तयारी नै गरिसकेका रहेछन् । शायद अब फागुनको चुनावपछि ओलीको बस्ने ठाउँ कुटी नै हुन्छ होला । उहाँलाई अब अरूतिर बस्न सक्ने गरी जनताले पत्याउलान् जस्तो छैन । चुनावपछि ओली बस्ने परमानेन्ट एड्रेस कुटी नै हुनेछ भन्ने कुरा महेश बस्नेतलाई राम्रै थाहा रहेछ ।

त्यही भएर बंगला–संगला बनाउन छोडेर कुटी बनाउने योजना तयार पारेको । उसो त महेश बस्नेतको अहिले जो चुरिफुरी छ, त्यो यस्तै रहने हो भने फागुन २१ पछि ओली मात्र होइन सम्पूर्ण ओली मण्डलकै बसोबास कुटीमा हुने संभावना देख्छु म । कुटीमा बसोबास भयो भने त्यसलाई कुटिबास भन्न सकिन्छ होला । जस्तो कि वनमा बसोबास भयो भने वनबास भनिन्छ । बुझ्नुभयो होला नि कुरो !
 

टिप्पणीहरू