अब कसरी छोड्ने देश ?

अब कसरी छोड्ने देश ?

-सिंहराज

केपी चोर – देश छोड् !
देउवा चोर – देश छोड् ! 
प्रचण्ड चोर – देश छोड् !

अस्ति जेन जी प्रदर्शन र विध्वंशमा लागेको मूल नारा यही हो । त्यतिबेला केपी ओली प्रधानमन्त्री थिए । मानौं एक हिसाबले भागिसकेका प्रधानमन्त्री थिए । त्यसैले आन्दोलनकारीले ‘केपी चोर देश छोड्’ वाला नारा नै अलि बढी लगाएका थिए । तर प्रदर्शनमा त्यस्तो नारा लागेको भए पनि अहिले सरकार भने आन्दोलनकारीको नारा विपरितका काम गर्दैछ । 

हेर्नोस्, एकातिर जेन जीहरू ओली चोर देश छोड् भनेर नारा लगाउने अनि अर्कोतिर सरकार भने ती नेताहरूको पासपोर्ट रोक्का गर्दैछ । के गरेको यो ? पासपोर्टै रोक्का भएपछि देश कसरी छाड्ने ? यो त पूरै नमिल्ने कुरा भयो । 

एकातिर देश छोड् भन्ने, अर्कोतिर पासपोर्ट रोक भन्ने । नेताहरूको पासपोर्ट रोक्नु जेनजी आन्दोलनको विपरित भएन र ? आफैंले देश छोड भनेर नारा लगाएका नेताहरूलाई आज देश त परको कुरा उपत्यका समेत छोड्न नमिल्ने बनाउँदा पनि जेन जीहरू किन चुप ? के यसमा जेन जीहरूले आवाज उठाउनु पर्दैन ?

सरकारले जेन जी आन्दोलनका मागलाई धमाधम बेवास्ता गर्दैछ भन्ने आरोप लागेको सुनिन्छ । वास्तवमा बेवास्ता गरेकै रहेछ । त्यसको प्रमाण यही हो । जेन जीहरूले देश छोड् भनेका नेताहरू कसैलाई देश छोड्न नपाइने बनाएपछि आन्दोलनको बेवास्ता भयो कि भएन ?

टिप्पणीहरू