खाली जेल
जेनजी आन्दोलनको समय थियो । मान्छेहरू यताबाट उता, उताबाट यता दौडादौड गरिरहेका थिए । त्यस मध्ये मैले एउटा त्यस्तो मान्छे पनि देखेँ जो हेर्दा जेनजी जस्तो लाग्दैन थियो । ‘एऽ पख पख ! कहाँबाट आएको ?’ मैले रोक्दै सोधेँ ।जेनजी भए त ‘तँलाई किन चाहियो ?’ भनेर ठाडो जवाफ दिन्थ्यो होला । तर उसले भन्यो, ‘हजुर, म जेलबाट आएको ।’
‘जेलबाट ? भागेर आएको ?’
‘हजुर, रवि दाइ भागे, त्यसपछि म पनि भागेँ । रवि दाइले गर्दा मैले यस्तो अवसर पाएँ । बहुत राम्रो मान्छे हो उहाँ । उहाँको जय होस् । अब चौरासीमा म उहाँलाई नै भोट दिन्छु ।’ ‘रवि दाइ भागे भन्दैमा तिमी पनि भाग्ने हो त ? उहाँ त ठूलो मान्छे, भागिरहनुहुन्छ । उहाँ जसरी तिमी भाग्न सक्छौ ?’ मैले सोधेँ ।
‘खास कुरो त्यस्तो होइन सर, ’ उसले खास कुरो बताउन थाल्यो, ‘हामीले बाहिर चलिरहेको आन्दोलनको नारा सुन्यौं । सबैजना भनिरहेका थिए कि नेताहरू सबैलाई जेल हाल्छौं । अब नेताहरूलाई जेल हाल्ने हो भने जेलमा ठाउँ पनि त हुनुपर्यो नि ! हामी अहिले त यस्तो कोच्चिएर बस्नुपरेको छ । नेताहरू सबैलाई ल्याइयो भने कहाँ राख्ने ? त्यही भएर नेताहरूका लागि ठाउँ बनाइदिनुपर्छ भनेर हामी सबै जेलबाट निस्केको । अब खाली भएको जेलमा नेताहरूलाई आरामसाथ राख्न मिल्यो नि ! हामीले सरकारलाई सहयोग पो गरेको हो सर । अब म जाऊँ ?’
अब जेलबाट भागेर सरकारलाई सहयोग गर्ने यस्तो कैदीलाई के भन्नु ? ‘हुन्छ, जाऊ’ भनेँ । हामीलाई बाहिर निकाल भनेकै यही कारणले हो । खोइ जेन जी ले कुरा बुझेको ?
टिप्पणीहरू