हामी फेरि उठ्नेछौँ !
जेन जी आन्दोलनमा सबै कुरा ध्वस्त भएपछि बेपत्तै भएका दलीय नेताहरू अब विस्तारै बाहिर आउँदै छन् । बाहिर आएर आ–आफ्नो पार्टी कार्यालयतिर गइरहेका छन् जो आन्दोलनका क्रममा पूरै ध्वस्त भएको थियो । नेताहरू बाहिर आउनुअघि कार्यकर्ताले एउटा नयाँ नारा सार्वजनिक गरेका छन्— हामी फेरि उठ्नेछौँ ।
नारा राम्रो छ । समसामयिक पनि ! अब त नउठी सुखै छैन । जसरी भए पनि उठ्नै पर्छ । किनभने सरकारले फागुन २१ गते चुनावको घोषणा गरिनै सकेको छ । फागुन २१ मा चुनाव गर्छु भनेपछि सरकारले चुनाव गराएरै छाड्छ । किनभने यो सरकार आएकै चुनाव गराउनलाई हो । चुनाव घोषणा भइसकेपछि त्यसमा उम्मेदवारी दिन त उठ्नै पर्यो । नउठी सुखै छैन । उठिएन भने चुनावमा कसरी जितिन्छ ? जित्नलाई त उठ्नै पर्छ ।
त्यसैले ‘हामी फेरि उठ्नेछौँ’ भन्ने जो नारा छ, त्यो सामसामयिक छ । तर उठ्नेचाहिँ कहाँ हो, त्यो भने उहाँहरूले भन्नुभएको छैन । चुनावमा उठ्ने हो कि अन्तै उठ्ने हो ? त्यो पनि भनिदिए ‘सुशीला आमा’ लाई सहयोग पुग्थ्यो कि ?
टिप्पणीहरू