आमसभाअघि कार्यकर्ता नियन्त्रणमा

आमसभाअघि कार्यकर्ता नियन्त्रणमा

भदौ २४ गतेको जेन–जी विध्वंशका क्रममा विराटनगरमा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । मोरङ कटहरीका ताजिम अन्सारीसहित तत्कालीन एमाओवादी केन्द्रका पाँच जना कार्यकर्तालाई हिजो साँझ गिरफ्तार गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरको पुरानो गुरुन्द्रमा आयोजना गर्न लागेको एकतासभाको तयारीमा खटेको अवस्थामा अन्सारीसहित आवास पौडेल, अरुण साह, राजीव यादव, महेश नेपाल हिजो साँझ ७ बजे प्रहरी नियन्त्रणमा पुगेको मोरङका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए। तीमध्ये ताजिम र आवास नेपाली कांग्रेसका, अरुण साह नेकपा (एमाले) का अगुवा स्थानीय कार्यकर्ता हुन्। ताजिम पूर्वमन्त्री अमनलाल मोदीका स्वकीय सचिव पनि थिए ।

उनीहरु सबैलाई ‘अपराधिक उपद्रव’ मुद्दा चलाउने प्रहरीको तयारी छ। भदौ २४ गतेको घटनामा संलग्नहरूको फोटो र भिडियोको आधारमा पहिचान गर्दै प्रहरीले पक्राउ अभियान चलाइरहेको छ। यसअघि पनि प्रहरी चौकी र गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्रेर अनुसन्धान अघि बढाइसकेको छ।

ताजिमलाई झण्डै दुई महिनापछि पक्राउ गरिएकोमा माओवादी नेता–कार्यकर्ताहरूले चर्को विरोध गरेका छन् । जेन–जी विध्वंशमा विराटनगरमा कोशी प्रदेश सभा, उच्च अदालत, जिल्ला अदालत, प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, महानगरपालिका, उपसभामुख र प्रदेश प्रमुखको निवास, भाटभटेनी डिपार्टमेन्टल स्टोरसहित दर्जनौँ संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।
 

टिप्पणीहरू