सडकमा हुँदा चर्का कुरा,मन्त्री बनेपछि अर्कै पारा
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनताको अपेक्षाअनुसार सबै काम एकैचोटि गर्नसक्ने स्थिति नरहेको बताएका छन् ।
देश आर्थिक रुपले कमजोर रहेकाले सीमित स्रोत,साधनबाट काम गर्नुपर्ने बाध्यता उनले सुनाए । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा 'सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रम' लाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।
सडकमा ट्राफिक लाइट जडान गर्ने, प्रहरीका भौतिक संरचना व्यवस्थित गर्नेजस्ता काम आर्थिक अवस्था कमजोर भएकैले भनेकै समयमा गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
'नेपाल आर्थिक रुपमा कमजोर रहेको देश नै हो । त्यसैले चाहेको बेलामा सबैकुरा गर्न सकिरहेका छैनौँ ', उनले भने, 'भएका स्रोत साधनबाट हामी चल्नुपर्छ ।'
त्यसक्रममा मन्त्री गुप्ताले ट्राफिक नियम पालना गर्न आग्रह गर्दै ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए । सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जानेउनको धारणा छ ।
टिप्पणीहरू