बादलद्वारा फेरि नक्कली क्रान्तिको बेलिबिस्तार

बादलद्वारा फेरि नक्कली क्रान्तिको बेलिबिस्तार

माओवादी पृष्ठभूमिका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले भदौ २३ र २४ गतेको घटनालाई ‘क्रान्ति र विद्रोह’ भन्न नमिल्ने टिप्पणी गरेका छन् । अध्यक्ष केपी ओलीकै बोलीमा लोली मिलाउँदै उनले सो घटनालाई प्रतिक्रान्तिको संज्ञा दिए । 

आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेनजीको आवरणमा प्रतिगमनको अभ्यास गरिएको दावी गरेका हुन् । ओलीले पनि आफूलाई सत्ताच्यूत गर्न विदेशी शक्तिको उक्साहटमा उपद्रव मच्चाइएको जिकिर गर्ने गरेका छन् ।  

‘एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई बलपूर्वक अपदस्थ गरेर गैरनागरिकको हातमा पुर्याइयो’,  थापाले भने, ‘यसलाई राजनीतिक सिद्धान्तले क्रान्त्रि भन्दैन, प्रतिक्रान्ति र प्रतिगमन भन्छ ।’

पूर्व गृहमन्त्रीसमेत रहेका उनले जेनजीको आवरणमा स्वार्थ समूहले देशलाई खरानी पार्ने योजनामा घटना घटाएको आरोप लगाए । आफ्नो राजनीतिक जीवनमा तेस्रो पटक प्रतिक्रान्ति भोगेको बताउँदै थापाले यसलाई परास्त गर्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । 

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन संघारमा आइरहँदा प्रेस चौतारीले अध्यक्ष ओलीको पक्षमा खुलेका नेताहरूलाई पालैपालो बोलाएर पत्रकार सम्मेलन गरिरहेको छ । हिजो अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको लागि पनि पत्रकार सम्मेलन आयोजना गरेको थियो । योक्रम भोलि पनि जारी रहने बताइएको छ ।
 

टिप्पणीहरू