मधेशमा फेरि महाभारत

मधेशमा फेरि महाभारत

डेढ महिनामा तीनजना मुख्यमन्त्री पाएको मधेश प्रदेशमा नयाँ सरकार गठनको विषयलाई लिएर दलहरूबीच फेरि किचलो शुरु भएको छ । 

मुख्यमन्त्री सरोज यादवलाई हटाउन एकमत भएका नेपाली कांग्रेस, जसपा, लोसपासहित सात दलबीच सरकारको नेतृत्वमा हानथाप चलिरहेको छ । जसका कारण प्रदेश प्रमुखले दिएको समयसीमा गुज्रिनै लाग्दासमेत दलहरूले सहमति जुटाउन सकेका छैनन् । 

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् । तर, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा परस्पर दाबी गरिरहेका छन्   । 

अहिले कांग्रेस र लोसपाका नेताहरू छुट्टै छलफलमा रहेको बुझिएको छ । ५ बजेअघि सहमति जुटिसक्ने कांग्रेस संसदीय दलका नेता यादवले दावी गरे। ‘राजनीतिमा कतिबेला के हुन्छ, कसलाई थाहा हुन्छ र’, उनले जनआस्थासँग भने, ‘समय अझै बाँकी नै छ, हामी छलफल गरिरहेका छौ, राजनीतिमा जे पनि सम्भव हुन्छ ।’

एमाले नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जसपा, लोसपा, जनमत पार्टीसहित सात दल एकैठाउँमा उभिएका थिए । मधेशमा पछिल्लो तीन महिनाभित्र चौथो सरकार बन्न लागेको हो ।
 

टिप्पणीहरू