बुढ्यौलीमा पनि लोभलाग्दो सक्रियता

बुढ्यौलीमा पनि लोभलाग्दो सक्रियता

प्रायःजसो ६० वर्ष उमेर पुगेपछि मानिसहरु घरमै आराम गरेर बुढ्यौली बिताउँछन् । यो उमेरमा रोगले च्यापँदै लैजाने भएकाले दैनिकी निकै कष्टकर हुन्छ । तर, कोशी प्रदेश सभाका ज्येष्ठ सांसद गयानन्द मण्डल गन्गाइ भने ८० वर्ष उमेर पुगेपनि निकै सक्रिय देखिन्छन् । 

बुढ्यौली उमेरमा पनि उनको सक्रियता युवा सांसदभन्दा बढी छ । उनी कोशीको राजधानी मोरङको विराटनगरबाट २० किलोमिटर टाढा धनपालथान गाउँपालिका–७, को ग्रामीण बस्तीमा बस्छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित गयानन्दको उमेर बढ्दै गएपनि जोश भने उत्तिकै छ । 

कोशी प्रदेश सभामा समाजिक विकास समितिका सभापतिसमेत रहेका उनी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि झनै सक्रिय छन् । उनी संसदका गतिविधिमा मात्र नभई सामाजिक क्रियाकलापमा पनि सामेल हुने गरेका छन् । पुसको कठ्याङग्रिँदो जाडोमा पनि बिहान ८ बजे नै विभिन्न कार्यक्रममा सहभागी हुन उनी विराटनगर आइपुग्छन् । 

ज्येष्ठ माननीय गयानन्दको बुढ्यौली उमेरको सक्रियता देखेर प्रदेशसभाका युवा सांदसहरु छक्क पर्ने गरेका छन् । कोशीका युवा सांसद जयप्रकाश चौधरी भन्छन्, ‘उहाँ यो उमेरमा पनि हामीभन्दा जोसिलो र सक्रिय देख्दा लोभ लाग्छ ।’ समाजिक विकास समितिको सभापति भएपछि सांसद गयानन्दले चालकसहितको गाडी सुविधा पाएका थिए । 

तर, जेनजी विध्वंशमा प्रदेशसभा भवनसँगै परिसरमा राखेको उनको गाडी पनि जलेर खरानी भयो । विश्वसंपछि अवस्था प्रतिकूल भएको र गाडी पनि नभएको भन्दै धेरैजसो सांसदले सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन आनाकानी गर्दा ज्येष्ठ सांसद गयानन्द भने कहिले सार्वजनिक यातायात चढेर त कहिले छोराको मोटरसाइकलमा बसेर पुग्थे । 
सँगै प्रदेशसभा भवनको अवलोकन र कर्मचारीसँग भेटघाट पनि गर्थे । विध्वंशपछि समेत उनले आफूले नेतृत्व गरेको समाजिक विकास समितिलाई सक्रिय बनाइराखेका थिए । अहिले संघीय सरकारले प्रदेश सांसदहरुको स्वकीयसहित विभिन्न सेवासुविधा खोसेको छ । तैपनि उनी छोराको मोटरसाइकलमा कम्बल ओढेरै भएपनि बिहानै विराटनगरमा हुने कार्यक्रममा सहभागी हुन पुग्छन् । 

सांसद गयानन्द भन्छन्, ‘अब गाडी पनि छैन, स्वकीय पनि खोसिहाल्यो । छोराले नभ्याउँदा टेम्पो चढेर आउजाउ गर्छु ।’ अहिले उनलाई पार्टीको नजिकिँदो महाधिवेशनका कारण भ्याईनभ्याई छ । यसैले केही समय सार्वजनिक कार्यक्रममा आफूलाई नबोलाउन उनले आयोजकहरुसँग आग्रह गरेका छन् । 

सबैलाई पहुँच दिने र मनमा लागेको कुरा प्रष्टसँग बोल्ने गयानन्द प्रदेश सभामा निर्वाचित भएपछि ज्येष्ठताको आधारमा केही दिन सभामुखको भूमिका पनि निभाएका थिए । बुढ्यौली उमेरमा पनि उनी दैनिक ध्यान र नित्यकर्म गर्छन् । गयानन्द सबैरै सुत्छन् र बिहान ३ बजेतिर नै उठ्छन् । उठेपछि एक घण्टा ध्यान गर्छन् । त्यसपछि नित्मकर्म गरी पुजापाठ गर्छन् । अनि सेवा कर्ममा खटिन्छन् । आफूलाई शाकाहारी भोजन मन पर्ने उनी बताउँछन्। 

२०२३ सालमा प्रधानपञ्च निर्वाचित भएका ज्येष्ठ सांसद गयानन्द २०२६ सालमा जिल्ला पञ्चायत सदस्य बने । ०३५ सालदेखि काँग्रेसबाट सक्रिय राजनीतिमा खटिरहेका उनी २०४८ देखि निरन्तर पार्टीको महासमिति सदस्य छन् । ०६४ मा मधेशी जनअधिकार फोरमका रामानन्द मण्डलसँग १२ सय मतले पराजित भएका गयानन्द ०७० को चुनावमा ८ भोटले हराएका थिए । 

दुई पटकको पराजयपछि समेत सक्रिय राजनीतिमा खटिरहेका उनी ०७९ मा कोशी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । अब भने राजनीतिबाट विश्राम लिने चाहना रहेको उनी सुनाउँछन् ।

टिप्पणीहरू