नेपालका भावी माननीयलाई बेलायतमा आवासीय सुविधा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमा प्रवासबाट दुई जनालाई उठाइएको छ। ओमानबाट डीबी (डम्बरबहादुर) क्षेत्री र बेलायतबाट कृष्णकुमार राईलाई समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष राईलाई नेकपाको पश्चिम अन्तरमहादेशीय कमिटीले समानुपातिक सांसदको लागि सिफारिसअनुसार बन्द सूचीमा समावेश गरिएको बताइन्छ । तर, बेलायतको आवासीय सुविधा लिएका उनलाई संविधानको धारा २९१ बमोजिम सांसद सिफारिस गर्न मिल्ने देखिँदैन ।
सांसद नियुक्तिका लागि योग्य नहुने संविधानको उक्त धाराको उपधारा (१) मा भनिएको छ, ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबोजिम निर्वाचन,मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचन, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन ।’
बेलायतको नागरिकता लिएको हालसम्म देखिन नआए पनि राई वर्षको कम्तीमा छ पटक त्यहाँ पुग्ने गरेको उनको पासपोर्ट र बेलायती अध्यागमन अभिलेखमा देखिन्छ । उनले बेलायतको स्थायी अनुमति लिएकाले ओहोरदोहोर गर्न कुनै अवरोध नपुगेको बेलायतबासी नेपालीहरु बताउँछन् ।
बेलायतको स्थायी बसोबास अनुमति, त्यसको फिर्तासम्बन्धी कानुनी व्यवस्थाबारे लण्डन निवासी एकजना नेपाली भन्छन्, ‘बेलायतमा आइएलआर त्याग्ने सबैभन्दा सजिलो तरिका भनेको युके बाहिर लगातार दुई वर्षभन्दा बढी बस्नु हो । यो अवस्थामा कुनै निवेदन वा फाराम भर्न पर्दैन,स्वतः बेलायत बस्ने अनुमति स्वतः समाप्त हुन्छ ।’
उनका अनुसार कसैले औपचारिक रुपमा स्वेच्छाले त्यस्तो अनुमति त्याग्न चाहेमा युके भिसाज एण्ड इमिग्रेसनलाई लिखित घोषणा बुझाउनुपर्छ । त्यसमा नाम,जन्म मिति,पासपोर्ट विवरण र स्वःघोषणाको विवरण स्पष्टसँग उल्लेख हुनैपर्छ । राईको हकमा उनी लगातार दुई वर्ष बेलायत बाहिर बसेका छैनन् भने हालसम्म त्यागको स्वःघोषणा पनि गरेको देखिँदैन ।
यसरी बेलायतको आवासीय सुविधा लिएर त्याग गरेका जो कोहीले पुनः नयाँ भिसा लिएर मात्रै त्यहाँ फर्कन पाउँछन् । त्यसैले त्यस्तो पाइरहेको सुविधा त्याग्नु भनेको प्रायः स्थायी रुपमा बेलायत बाहिर बस्ने, कर वा आवासीय हैसियतको लफडा टार्ने वा अर्को देशको स्थायी बसोबास वा नागरिकता लिएको अवस्थामा मात्रै हुने गरेको छ । राईको हकमा ती कुनै पनि अवस्था विद्यमान छैन भनिन्छ ।
टिप्पणीहरू