दिउँसो कुटिएका निकोलस रातभर सडकमा
भ्रष्टाचारविरुद्धको अभियानका नाममा आक्रमक अभिव्यक्ति दिएर चर्चामा आएका पात्र हुन्, डा. निकोलस भुसाल । नेपालका जंगलमा भएका रुख बेचेरै नागरिकलाई करोडपति बनाउन सकिने सपना बाँड्ने उनी कुनै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थक थिए । तर, रवि लामिछाने गृहमन्त्री भएका बेला प्रहरीको कुटाई खाएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थनमा उभिए ।
तर, यतिबेला उनै निकोलस रवि र बालेनविरुद्ध ‘आगो’ ओकलिरहेका छन् । सरकारले जेनजी आन्दोलनको माग पूरा नगरेको भन्दै निरन्तर सडक प्रदर्शन गरिरहेका उनले हिजोदेखि भने माइतीघर मण्डलामा अनसन शुरु गरेका छन् । ओढ्ने-ओछ्याउने कपडासहित हिजो साँझदेखि सडकमा बास जमाएका उनी माग पूरा नभएसम्म अनसन नतोड्ने अडानमा छन् ।
सरकार, राजनीतिक दल, रवि, बालेन सबैको विरोध गर्ने निकोलसको माग के हो भन्ने स्पष्ट छैन । केही समयअघि दल खोलेर चुनाव लड्ने र जुन निर्वाचन क्षेत्रबाट उठे बने पनि शानदार जित निकाल्ने दावी गरेका उनी अहिले भने प्रत्यक्ष निर्वाचित कार्यकारीको रटान लगाइरहेका छन् ।
‘यो सरकारले चुनाव, चुनाव भनेर मात्रै हुँदैन, बालेन र रवि मिलेर केही फरक पर्दैन’, उनले भनेका छन्, ‘कि सबै एकठाउँमा आएर चुनावअघि जेनजीको माग पूरा गर्ने सहमति गरौँ, नत्र हामी सबैलाई साइड लगाउँछौँ, चुनाव हुन दिन्नौँ ।’
सँधै नशाको सुरमा रहने भनिएका निकोलसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गोली हान्न आफू तयार रहेको अराजक अभिव्यक्ति पनि दिएका छन् । ओलीले केही दिनअघि एक अन्तर्वार्तामा जेनजी घटनामा ‘म बयान दिन्नँ, बरु गोली हाने हुन्छ’ भनेका थिए । सोही सन्दर्भमा उनले अनसनस्थलबाटै भनेका छन्, ‘म हान्छु गोली, अलि सुध्रिने प्रयास गर, नत्र धेरै बाँच्दैनस् ।’
स्मरण रहोस्,सोमबार जेनजीको एक समूह प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै माइतीघरमा धर्ना दिन पुगेको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाएका उनीहरुसँग भुसाल पनि देखिएका थिए । उनी कसरी पुगे, जेनजी युवाहरुलाई थाहा छैन ।
सोमबार पक्राउ परेका एक जेनजी भन्छन्, ‘हामीले त धर्नाको रुपरेखा तयार पारेर गएका थियौँ, तर उहाँ कसरी आउनुभयो, कसरी पक्राउ पर्नुभयो, केही थाहा छैन, समाचार हेरेपछि मात्र थाहा पाएँ ।’
दिउँसो पक्राउ परेर साँझ रिहा भएका भुसाल हिजो फेरि माइतीघर पुगेका थिए । उनलाई प्रहरीले लौराले कुटेको थियो । तर पनि माइतीघर छाडेका छैनन् ।
‘पुलिसको भाटा खाएर हिँड्नै नसक्ने भएको छु, साथीहरुले पेन किलर किनेर ल्याइदिएका छन्’, निकोलसले भनेका छन्, ‘अब यही खाने, यही सुत्ने हो, माग पूरा भएपछि मात्र जाने, जसरी पनि माग पूरा गराउँछौँ ।’
टिप्पणीहरू