रुकुमका मेयरबाट म्याडम उपमेयरमाथि पेलान

रुकुमका मेयरबाट म्याडम उपमेयरमाथि पेलान

माओवादी केन्द्रका कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीतिर विभाजित भएपछि एक अर्कालाई दोषारोपण गर्ने क्रम बढ्दो छ । कुनैबेला एउटै पार्टीभित्र लामबद्ध, एउटै नारा र आदर्शबाट प्रेरित, एउटै चुनाव चिह्नबाट जितेका नै अहिले दुईतिर छन् ।                           

यसै क्रममा साबिक माओवादी केन्द्रबाट आठबिसकोट नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित रवि केसी र धनकुमारी शाहीबारे पनि अनेकन आरोपका श्रृंखलाहरू बढिरहेका छन् । सामाजिक सञ्जालमा मेयरले अरुविरुद्ध आरोप नलगाए तापनि शाहीले भने आफू लगातार हेपिएको भन्दै आलोचना गरेकी छन् । उनी लेख्छिन्, ‘सामाजिक सञ्जालमा नलेखौं, नबोलौं भनेर निर्वाचित भएदेखि आजका मितिसम्म ब्याक भएर बसियो । मप्रति तपाइँले गरेको व्यवहार अति त भएकै थियो, अत्याचार भएपछि बाध्यताले सामाजिक सञ्जालबाटै जानकारी गराउँछु ।’ 

उपमेयर शाहीले मेयर केसीलाई स्थानीय तहको निर्वाचनमा टिकट लिँदा नेता जनार्दन शर्मा र तत्कालिन नगर प्रमुख गोर्खबहादुर केसीको झोले बनेर, नजिकको पात्र बनेर, ३२ वर्षको ठिटो बनेर, जनयुद्धकालदेखि त्यही दिनसम्म पार्टी भनेर दुःख गरेका तमाम कार्यकर्तालाई छल्दै टिकट लिन सफल भएको आरोप लगाएकी छन् । एउटै पार्टीबाट जिते पनि बारम्बार हेपिएको उनको दुखेसो छ । भनिन्, ‘मेयरबाट कहिले महिला भएकै कारण हेपिएँ, कहिले भेगिय नजरले हेपिएँ, कहिले मनपरि बजेट चलाउन खोजेपछि मैले अवरोध गर्दा पेलिएँ ।’

यतिसम्म कि कार्यपालिकाको बैठकमा सबैको उपस्थिति गराएर महिना दिनपछि लुकिछिपी निर्णय लेख्ने गरेको, यो नगरौं भनेर रोक्न खोज्दा नमानेको, ५०औं लाखका फाइलहरू नजिकका मान्छेलाई दिन खोज्दा अरु वडाध्यक्षलाई छलेर मेयरका नजरमा परेकालाई योजना दिई अनुगमन नगरी, समिति कसैको पनि साइन नगराई ३०, ३५ लाख भुक्तानी दिएको शाहीले सार्वजनिक गरेकी छन् ।                                   

नेपाली कांग्रेस र एमालेबाट निर्वाचित ४ जना वडा अध्यक्षसँग समन्वय गरेको, बोलेको आरोप लगाएर आफूलाई किनारा लगाएको, प्रतिपक्षका नेताहरूसँग चिया गफ र फोटो खिचेकै कारण बेवास्ता गरिएको, निर्माण गर्न नसकिने ठाउँमा अनावश्यक डिपिआर नगरौं भन्दा रिसाएको उनले सार्वजनिक गरेकी छन् । यसका साथै सहकारी र द्वन्द्वपीडित ब्यक्तिहरूले न्यायिक समितिमा हालेको निवेदन अगाडि बढाउन खोज्दा झन् हेपिएको, सार्वजनिक संरचनाहरू भत्काउनेलाई कारबाही गरौं भन्दा नटेरेको उनको भनाइ छ ।

मेयर केसीले भने आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । उपमेयर शाही अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीतिर लागेकी छन् भने मेयर केसी नेपाली कम्युनिष्ट पार्टीका गतिविधिहरूमा सक्रिय छन् ।

टिप्पणीहरू