‘केपी कमरेड, अरुको चित्त दुखाएर के पाउनुहुन्छ ?’
एमाले केन्द्रीय अनुशासन आयोगका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद्का पूर्वअध्यक्ष हुन्, केशव बडाल । हालै सम्पन्न राष्ट्रिय महाधिवेशनमा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका उनी जाँदाजाँदै नेतृत्वमाथि असन्तुष्ट सुनिए । दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यौन हिंसामा संलग्न नेताहरूलाई कारवाही गर्न नसकेकोमा प्रतिनिधिहरूसँग माफी त मागे नै, एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदा आफूलाई काम गर्न नदिइएको दुखेसो पोख्दै आँशुसमेत खसाले । चार वर्षसम्म अनुशासन आयोगको नेतृत्व गरेका बडाल आखिर के गर्न चाहन्थे ? र, कसले रोक्यो त ? जनआस्थाले केही प्रश्न गरेको छ ।
० अनुशासन आयोगको नेतृत्व सम्हाल्दै गर्दा कति उजुरी आए ?
– म हुँदा अध्यक्ष भइसकेपछि पाँच सयभन्दा बढी उजुरी थिए । मौखिक दिनेहरूलाई नाम र नम्बरसहित लेखेर दिनुस् भन्थेँ । तर, उनीहरूले ‘आफूलाई फेरि भोलि त्यही नेतासँग काम गर्नुपर्छ, अफ्ठ्यारो हुन्छ’ भनेर दिन मान्दैनथे । लिखित रूपमा पनि सयभन्दा बढी उजुरी आए ।
० कस्तो खाले उजुरी बढी थिए ?
– सबैभन्दा बढी त पार्टीभित्र निर्णय गर्दा लोकतान्त्रिकरण भएन भन्ने उजुरी थिए । सामुहिकताको अभ्यास नै लोप हुँदै गयो भन्ने चिन्ता धेरै साथीहरूमा पाएँ । पार्टीको दर्शन, विचार, आचरणमाथि पर्याप्त बहस हुन सकेन । यस्तो उजुरी केन्द्रीय नेताविरुद्ध मात्रै होइन कि वडा कमिटीका नेताविरुद्ध पनि आएका छन् । योबाहेक विभिन्न नेताहरूको आचरण र चरित्रविरुद्ध पनि उजुरी परेका छन् । पार्टीभित्र भएका गलत गतिविधिविरुद्ध लिखित उजुरी दिन पनि डराउनुपर्ने अवस्था किन र कसरी आयो ?
० एमाले नेता तथा कार्यकर्ताहरू नेतृत्वविरुद्ध बोल्न डराउँदारहेछन् ?
– हो । मान्छे तीन विषयमा लोभी देखियो भने बिग्रदै जाँदोरहेछ । धनसम्बधी लोभ, यौनसम्बन्धी लोभ, पदसम्बन्धी लोभ । यी तीन कुराको लागि जे पनि गर्न थालियो भने प्रकारान्तरमा संगठनले लामो यात्रा गर्न सक्दैन । केही नेताको विभिन्न काण्डमा किन कुनै कारबाही भएन ? जति गर्नुपर्ने थियो, त्यति गर्न नसकेकोमा म खुशी छैन ।
० के गर्न चाहनुहुन्थ्यो ? के गर्न सक्नुभएन त ?
– ५५ वर्षको राजनीतिक जीवनमा आजसम्म जे–जति जिम्मेवारी पाएँ, त्यसलाई कुशलताका साथ निर्वाह गरेको छु । तर अनुशासन आयोगको अध्यक्ष भइसकेपछि पहिलोपल्ट खराब परिणामको सामाना गर्नुपर्यो । यसनिम्ति वडा कमिटी, पालिका कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीसँग क्षमा मागेको छु ।
० गर्न बाँकी कामहरू के के थिए ?
– वर्षौंदेखि उखुको मूल्य नपाएका किसानहरू माइतीघरमा धर्ना बसिरहेका थिए । एमाले सरकारमा थियो । कम्तीमा पार्टीले उनीहरूलाई बाँकी रकम भुक्तानीको लागि सहजीकरण गरिदिनुपर्ने थियो । त्यहीबेला प्रतिक्विन्टल ७० रूपैयाँबाट ३५ प्रतिशत घटाउन हुन्थ्यो ? किसानले माटो छोएनन् भने नेताहरूले के खाने ? तर, यसको सुनुवाइ भएन । एमाले कहीँ न कहीँ जनतासँग टाढिँदै गइरहेको उदाहरण हो यो ।
केही नेता विभिन्न काण्डमा मुछिँदा पनि कारबाही गर्न सकिएन । मैले याे राम्राे भएन भनेकाे थिएँ तर केपी कमरेडले सुन्नुभएन ।
पार्टीलाई समुदाय र वर्गसँग नजिक गराउन चाहन्थे, तर सकिनँ । यसबाहेक विभिन्न नेताहरूको आचरण र चरित्रमाथि उठेका प्रश्नको समाधान गर्न बाँकी नै छन् । मैले सकिनँ ।
० नेतृत्वपंक्तिले कुन कुरामा तपाईंको चित्त दुखायो ?
– एउटै कमिटीका बसेर काम गर्नुभएका नेताहरूले नीति तथा ऐन संशोधन त गर्नुहुन्छ, तर एक पटक पनि सरसल्लाह गर्नु हुन्न । यसले चित्त दुख्दोरहेछ । ०४४ सालदेखि केपी कमरेडसँगै छु । विष्णु पौडेलसँग पनि लामो सहकार्य भयो । तर कहिल्यै अन्य नेताको राय सल्लाह लिने प्रयास गर्नुभएन । आफूलाई जे मन लाग्छ, त्यही गर्दै जानुभयो ।
० नेता–कार्यकर्ताको मन जितेरै ओली तेस्रोपटक अध्यक्ष बन्नुभएको होइन र ?
– मदन भण्डारीसँग १० वर्ष काम गरेँ । उहाँले कुनै विषय उठ्यो भने पहिला अरुको राय सुन्ने, त्यसपछि मात्रै निर्णय लिने गर्नुहुन्थ्यो । तर, त्यो अभ्यासमा अहिलेका नेता चल्न सकेनन् । संसारमा कोही पनि सर्वज्ञ हुँदैन । अहिलेको नेतृत्वले म नै सर्वज्ञ हुँ, अरु बाँकीचाहिँ सुन्ने मात्र हुन् भन्ने ठान्दै आएको छ । सबैले ‘म’ भन्ने । ‘म’ मात्रै, ‘मैले’ मात्र, ‘म’द्वारा भन्ने प्रवृत्ति हावी भएको छ ।
० तपाईंकै उमेरका ओलीले सक्रियता बढाउँदा तपाईंले चाहिँ किन विश्राम लिनुभएको ?
– मैले त पार्टीको विधानलाई मान्ने हो । यसअघि ७० वर्षे उम्मेर हद र दुई वर्षे कार्यकालको नीतिलाई स्वीकार गर्दै सक्रिय राजनीतिबाट बिदा लिएको हुँ । केपी कमरेडकै पहलमा यो नीति ल्याइएको थियो । अहिले फेरि उहाँले किन विधान उल्टाइपल्टाइ गर्नुभयो, मैले भनिरहनुपर्दैन । पार्टी जीवन झन् झन् कमजोर बन्दै गएको अवस्थामा मैले राजनीतिलाई निरन्तरता दिन उपयुक्त ठानिनँ ।
० गोदावारीबाट पारित भएको विधान तीन महिनामै संशोधन गर्नु आवश्यकता थियो कि कुनै व्यक्तिको इच्छा ?
– यसमा पार्टी नेतृत्व चुकेकै हो । म केपी कमरेडसहितलाई के भन्न चाहन्छु भने कम्तीमा निर्णय सोचेर र विचारेर मात्र गरौँ । दुई चार दिनमै बदल्नुपर्ने गरी हतारमा नगरौँ । तीन महिनाअघि मात्रै सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटीलगायतको आकारको सम्बन्धमा जुन निर्णय गरिएको थियो, त्यो फेरि ब्युँताइयो । तर वरिष्ठ उपाध्यक्ष हटाउने निर्णय मात्र कायम भयो । मैले यो राम्रो भएन भनेको थिएँ तर केपी कमरेडले सुन्नुभएन । लहडमा प्रमोशन र डिमोसन गर्ने काम राम्रो होइन । आगामी दिनमा यो कुरालाई गम्भीर रूपमा नलिने हो अर्को दुर्घटना हुन सक्छ ।
० तपाईंले जिम्मेवारीमा हुँदा नेतृत्वमाथि कुनै प्रश्न गर्नुभएन, जिम्मेवारीमुक्त भइसकेपछि मात्र किन पीडा पोख्नुभएको त ?
– म स्वयं अनुशासन कार्यान्वय गर्ने र गराउने मान्छे । मैले नै बाहिर बोल्दै हिँड्दा राम्रो सन्देश जाँदैनथ्यो । तर, केपी कमरेडसँगको भेटमा सधैँ सुनाउँदै आएँ ।
० ओलीकै कारण मन दुखेको हो कि अरु पनि कारण छ ?
– मैले मन दुखेको छ भनेपछि आफै बुझ्नुहोस् । म केपी कमरेडलाई विनम्र आग्रह गर्न चाहन्छु कि हरेक मान्छेमा मन हुन्छ, भावना हुन्छ । उनीहरूको भावनालाई चोट पु¥याउने काम कहिल्यै नगर्नुहोला । अरूको चित्त दुखाएर के पाउनुहुन्छ ?
० अरु पनि केही छन् कि ?
– पार्टी कार्यालयमा आगो लाग्दा सबै नेताको सम्पत्ति विवरण र राजनीतिक विवरण डढ्यो । मैले घरबाट मात्रै २९ बोरा पुस्तक लगेर राखेको थिएँ । विभिन्न उजुरी, त्यसउपर गर्न खोजेको कारवाहीलगायत सबैको दस्तावेज त्यही थियो । कृषि, वन, भूमि, सहकारीसम्बन्धी अनुसन्धानहरू त्यहीँ थिए । झन् घरभन्दा त्यहाँ सुरक्षित हुन्छ भनेर लगेको थिएँ । अरु कोठा त्यसरी खरानी पारिएको थिएन, तर आयोगको कोठा मात्रै केही बाँकी नरहनेगरी डढाइयो ।
० भदौ २३ र २४ गतेको घटनामा ओलीले बयान नदिने अडान लिइरहनुभएको छ, अनुशासनको दृष्टिकोणले यो सही हो त ?
– बयान नै नदिने त अटेरी हो । उक्त आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई मैले राम्ररी चिनेको छु । पहिला एउटा सहकारीको छानविनमा पनि अध्यक्ष हुनुहुन्थ्यो, बिगारेर जानुभयो । सिंहदरबार जलिरहँदा आफैँ तथानाम लेख्दै नेतालाई लखेट्ने कुरा गरिरहनुभएको थियो । त्यसैले पनि केपी कमरेडलाई विश्वास नभएको होला ।
कार्कीलाई मैले राम्ररी चिनेको छु । पहिला एउटा सहकारीको छानविनमा पनि अध्यक्ष हुनुहुन्थ्यो, बिगारेर जानुभयो । सिंहदरबार जलिरहँदा आफैँ तथानाम लेख्दै नेतालाई लखेट्ने कुरा गरिरहनुभएको थियो । त्यसैले पनि केपी कमरेडलाई विश्वास नभएको होला ।
टिप्पणीहरू