हिक्मत दाइलाई सचिव बनाउने अस्मिता

हिक्मत दाइलाई सचिव बनाउने अस्मिता

टुप्पाबाट पलाएका, एकैपटक माथिल्लो पद हात पार्न सफल एमाले नेता–कार्यकर्ता यस्ता गफ दिन्छन् कि, सुन्नेले समेत कान थुन्नुपर्ने गरी । यस्तैमा दरिएकी छन्, महाधिवेशन प्रतिनिधि हारेर, केपी ओलीसँग रोइकराइ गरी हलमा छिर्न सफल र भर्खरै केन्द्रीय सदस्य निर्वाचित ओखलढुंगाकी अस्मिता थापा । 

गुण्डुको लिस्टमा परेर केन्द्रीय सदस्य जित्न सफल उनले लिखु गाउँपालिकाका उपाध्यक्ष, वडा नं १ का वडाध्यक्ष हिराबहादुर कार्कीलाई यस्तो गफ दिइन् कि सबै हेरेको हेर्‍यै । उनले भनिन् ‘हाम्रो हिक्मत दाइलाई मैले सचिव बनाएको हुँ नि ! (कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की) दाइले केपी ‘बा’ लाई भेट्न पाउनुभएको थिएन, मैले भेटाएर सचिवको टिकट दिलाएको हुँ र त दाइले चुनाव जिते !’ 

यो कुरा वडाध्यक्ष कार्कीले भेटेजति सबैलाई सुनाइसके । सुन्नेजति हाँसेर मुर्छासमेत परिसके । ०७५ सालमा विद्यार्थी विशेष जिल्ला कमिटीबाट संगठित सदस्यता लिएकी हुन् । पछि ओखलढुंगा सारिन् । वडाध्यक्ष कार्की अस्मितानिकट हुन् । लिखुमा एमालेले जम्मा ३ वटा वडा जितेको छ । वडा नं १ हिराबहादु कार्की,  ३ सोकर्ण श्रेष्ठ र ९ केशवहरि ढुंगेल ।

एउटै मान्छेलाई कति दिने बा’ ? 

लिखु गापाको उपाध्यक्ष हुनुअघि यिनी ओखलढुंगाका जिल्ला कमिटीमा थिइन् । २०८० चैतमा गुट परिवर्तन गरेर उपसचिव भइन् । गुटको चरम रूप देखेपछि पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । 

‘काठमाडौँ शिक्षा क्याम्पसमा पढ्न आउँदा राजनीतिबारे केही ज्ञान नै थिएन । मैले अखिलमा संगठित गरेको हुँ । समिक बडालकी पत्नी सम्झना अधिकारी  महिला विभाग प्रमुख हुँदा, सचिव बनाएपछि राजनीतिमा फड्को मार्न थालिन् ।

अहिले त उनी कहाँ हामी कहाँ पो भयौँ ! उनलाई क्याम्पसमा संगठित गरेका एक एमाले कार्यकर्ताले बताए । उनका अनुसार वर्षमान पुन ऊर्जामन्त्री हुँदा त्यहाँ करारको जागिर खान्थिन् । २०७७ सालमा तत्कालिन नेकपा विभाजित भएपछि उनी जागिर नवीकरण भएन । त्यसपछि बल्ल जिल्लातिर लागेकी हुन् । 

काठमाडौँमा चल्तीको एक अनलाइनको सम्पादकले उनको नाममा फेसबुक स्टाटस, ट्वीट र लेख लेखिदिने गरेका थिए । उनी त्यही सेयर गरेर ठूलो कुरा गर्थिन् । उनको नाममा कडा विश्लेषण आउन थालेपछि एकपटक भक्तपुरतिरका एमाले नेताले गोठाला लेखकको नाम लेखेरै कमेन्टसमेत गरेका थिए । 

जिल्ला आयोजक कमिटी सदस्यबाट सिधै उपसचिव, गापा उपाध्यक्ष, गाउँपालिका महासंघ कोशी प्रदेश समिति सचिव र अहिले एमाले केन्द्रीय सदस्य हुन् । उनी सफल हुँदा नविना लामा फालिइन् तर उनी परिन् । ०७५ सालमा संगठित सदस्य लिएको मान्छेले हानेको एमाले विधान पल्टाउने हो भने अस्मिता थापा र सुनिता डंगोलको उम्मेदवारी नै खारेज हुन्थ्यो । तर, पार्टीमा पञ्चायतकालदेखि दु:ख गरेकाहरू हेरेको हेर्‍यै, अस्मिताहरूले पद पाएको पायै ....।

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू