प्रधानमन्त्रीको टेबलमा ‘जेठा छोरा’को उजुरी

प्रधानमन्त्रीको टेबलमा ‘जेठा छोरा’को उजुरी

प्रधानमन्त्री सुशीला कार्कीद्वारा ‘जेठा छोरा’ भनी प्रशंसित सुदन गुरुङविरुद्ध उजुरी परेको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचार मुद्दामा चोख्याउन रकम बार्गेनिङ गरेको जिकिरसहित त्यहाँ कार्यरत जेनजी कर्मचारीले उजुर हालेका हुन् । सुदनले एक करोड घुस डिल गरेको र १० लाख अग्रिम भुक्तानी लिइसकेको उजुरकर्ताको दावी छ । 

प्रधानमन्त्री कार्यालयको प्रभाव र पहुँच दुरूपयोग गरी उनले अधिकारीलाई भेटेर भ्रष्टाचार आरोपबाट उन्मुक्ति दिलाउन रकम मोलमोलाई गरेको उजुरीले बोलेको छ । अख्तियार, मुख्य सचिव, हेलो सरकार, सतर्कता केन्द्र र पर्यटन मन्त्रालयसमेतलाई बोधार्थ दिई मंसिर २५ गते लेखिएको उजुरीमा क्यानभित्रको बेथिति र त्यसमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ । 

उजुरी पत्रको १.५ मा ‘तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग भेटघाटका बारेमा’ छुट्टै शीर्षकअन्तर्गत ‘क’ नम्बरमा लेखिएको छ, ‘सुदन गुरुङलाई प्रदिप अधिकारीले आफूलाई लागेको भ्रष्टाचार मुद्दामा कारवाही हुनबाट बचाउन सहयोग गर्नेबारे कुरा भएको ।’ र, त्यसै क्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई मनाउन सुदनले १ करोड मागेको र टोकन मनीको रूपमा १० लाख लिइसकेको दावी गरिएको छ ।  प्रदीप भ्रष्टाचार मुद्दामा जेल परेसँगै उनका विश्वासपात्र उपमहानिर्देशक जगन्नाथ निरौलालाई महानिर्देशक बनाउन सुदनले विभिन्न होटलमा पटक–पटक गोप्य भेट गरेको पनि उजुरीमा खुलाइएको छ । त्यसका लागि प्राधिकरण कार्यालयको सिसिटिभी फुटेज तत्काल सुरक्षित गरी अनुसन्धान थाल्न माग गरिएको छ । 

राज्य शक्ति दुरूपयोग गरी प्राधिकरणलाई हानी–नोक्सानी पु¥याउने काममा सुदनसँगै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि संलग्न रहेको जिकिर गरिएको छ । ‘अनियमितता तथा दुरूपयोगका विस्तृत विवरण’ उपशीर्षकको ‘ङ’ नम्बरमा लेखिएको छ, ‘जेनजी भनिने सुदन गुरुङ ग्रुप र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रयोग गरी प्रभाव विस्तार गर्न खोजेको ।’ 

प्रदीपसँगको मिलेमतोमा निरौलाले क्यानमा चरम अनियमितता गरेको दावीसहित तत्काल छानबिनको माग गरिएको छ । छानविन पूरा नभएसम्म निज निरौलालाई संवेदनशील पदमा रहने अवसर नदिई आवश्यक परे निलम्बन गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । त्यस्तै, नयाँ महानिर्देशक नियुक्तिमा उपरोक्त विषयलाई गम्भीरताका साथ लिन विशेष आग्रह गरिएको छ । त्यसो त, प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरूलाई भेटेर कर्मचारी सरुवा, बढुवामा चासो राख्ने गरेका सुदनमाथि यसअघि पनि यस्तै आरोप नलागेको होइन ।

अख्तियार प्रमुख र प्रधानन्यायाधीशको राजीनामा माग्ने, सरकारी कार्यालयमा पसेर हाकिमलाई निर्देशन दिनेजस्ता गैरकानुनी कामलाई सुशासन अभियानसँग जोडेर प्रचार गराउने उनको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, बिचौलिया दिपक भट्टहरूसँगको शंकास्पद सम्बन्धबारे प्रधानमन्त्री सुशीला कार्की पनि जानकार छिन् । तर, खै के बाध्यता हो जेनजी अगुवा भनिएका ३७ वर्षीय उनलाई जेठो छोरा भनेर नजिक राख्न पनि छोडेकी छैनन् । सरकार र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको दिन प्रधानमन्त्री कार्कीले धन्यवाद दिने क्रममा ‘सुदन गुरुङ, मेरो जेठो छोरोलाई पनि धन्यवाद दिन चाहन्छु’ भनेकी थिइन् ।

सार्वजनिक समारोहमा एक व्यक्तिको नामै किटेर त्यसरी प्रशंसा गरेकोमा केही जेनजीले चित्त दुखाएका थिए । सम्झौताको विपक्षमा रहेको मिराज ढुंगाना, रविकिरण हमाललगायतका अन्य जेनजी समूहले जेठो छोरोसँग मात्रै वार्ता गरेर सम्झौता गरेको आरोप प्रधानमन्त्रीमाथि लगाएका छन् । 

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू