सिंहदरबारका सैनिक कमाण्डरले जागिर छाडे

सिंहदरबारका सैनिक कमाण्डरले जागिर छाडे

साना दर्जाका सैनिकले धमाधम जागिर छोडिरहँदा माथिल्ला अधिकृतको पनि यसैमा लर्को लागेको छ । क्याप्टेनदेखि कर्णेलसम्मले जागिर छाडिरहेका छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि पुस १ गतेबाट घर जानेमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको सुरक्षा कमाण्डरदेखि प्रधानसेनापति मातहतकै सैनिक सचिव विभागसम्मका अफिसर छन् । 

जेनजी उपद्रवपछि सैनिक हिरासतमा लिइएका सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) गणेश खड्काको केस नटुंगिँदै उनका टुआइसी मेजर सन्तोष ढुङ्गेलले राजीनामा दिएका छन् । गणका सेकेण्डम्यान उनको ब्याच नम्बर ४४३८ हो । निवृत्तिभरणमा राजीनामा पेश गरेकोमा स्वीकृत भैसकेको छ । प्रमुख सेनानी गंगाबहादुर विष्टले पनि त्यही दिनदेखि जागिर छोडेका छन् । 

ब्याच नम्बर ३८५५ भएका उनी सैनिक व्याटल स्कूलमा कार्यरत थिए । गंगामाथि वीरदल गण कमाण्डरको रुपमा रौतहट बस्दा अर्काकी श्रीमती ताकेको आरोप लागेको थियो । स्थानीय एफएम रेडियोमा कार्यरत सशस्त्र प्रहरी हवल्दारकी श्रीमती ताकेको आरोपमा मुछिएपछि ब्रिगेडियर पवन खत्रीको अध्यक्षतामा सैनिक अदालत गठन गरिएको थियो । अदालतले दोषी ठहर गर्दै पाँच वर्षका लागि बढुवा रोक्न प्रधानसेनापतिसमक्ष सिफारिस गरेकोमा उनले जागिर छोडेका हुन् । प्रधानसेनापतिको सैनिक सचिव विभागका सेनानी पनि सेवाबाट बाहिरिएका छन् । ब्याच नम्बर ४७०६ भएका मेजर गकुलराज भण्डारीले राजीनामा दिएका छन्। 

प्राविधिक प्रमुख सेनानी डा.रश्मी श्रेष्ठले समेत जागिर छोडेकी छन् । ब्याच नम्बर ४२८५ भएकी उनी श्री फिल्ड अस्पताल, बुटवलमा कार्यरत थिइन् । उता नम्बर २२ बाहिनी अड्डा, बुटवलकै सेनानी मञ्जु खड्काको राजीनामा स्वीकृत भएको छ । उनको ब्याच नम्बर ४३८८ थियो । ब्याच नम्बर ४५३० भएका सेनानी शालिकराम अर्यालले पनि राजीनामा बुझाएका छन् । उनी श्रीमेहर गणमा थिए। 

उपसेनानी लुसेलचन्द्र लोहनीले बुझाएको राजीनामा पनि स्वीकृत भएको छ । ब्याच नम्बर ४६६४ भएका उनी श्री हवाई प्राविधिक सेवामा कार्यरत थिए । ब्याच नम्बर ३६४० भएका सेनानी आशिष केसी राजीनामा दिएर सेवाबाट बाहिरिएका छन् । उनी श्री सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालयमा कार्यरत थिए । सेनाले गत पुस १ गतेदेखि लागू हुनेगरी सबैको राजीनामा स्वीकृत गरेको छ। 

स्टाफ कलेज पास गरेर फुल कर्णेल बन्न लागेका एकपछि अर्को सैनिक अधिकृतले समेत भटाभट राजीनामा दिनु राम्रो संकेत नभएको एक सैनिक अधिकृत बताउँछन् । एउटा सैनिक उत्पादन गर्न बिसौं लाख रूपैयाँ खर्च हुने हुँदा उनीहरूले जागिर छोड्नु ठूलो नोक्सानीको विषय हो । भन्छन्, ‘यस विषयमा सेना अलिक गम्भीर हुन आवश्यक छ । तीन वर्ष तालिम, हतियार, ड्रेसलगायत गर्दा सरकारले एउटा सैनिक उत्पादनमा बिसौं लाख रूपैयाँ खर्च गरेको हुन्छ । उनीहरूले जागिर छोड्दा नोक्सानी हुन्छ नै फेरि नयाँ भर्ती गरेर तालिम दिँदा उत्तिकै दुःख र पैसा खर्च हुन्छ।’

अधिकांशले माथिल्लो दर्जामा जाने छाँटकाँट नदेखेपछि र केहीले परिवार विदेशमा भएकाले राजीनामा दिने गरेको समेत सुनिन्छ । सेनामा करिअर प्लानिङको अवसर नै नभएको उनी बताउँछन् । ‘साना दर्जाले सेवासुविधा अपुग भएर राजीनामा दिएका हुन्छन् । उपसेनानी वा त्यसभन्दा माथिकाले करिअर नदेखेर जागिर छोड्छन् । स्टाफ कलेज पास गरेकाले समेत राजीनामा दिइरहेका छन् । यो चिन्ताजनक विषय हो । गम्भीर रूपमा यसको अध्ययन आवश्यक छ ।’ यता, सेनाले भने घरायसी कारण देखाएर उनीहरूले राजीनामा दिएको बताएको छ। 

काठमाडौंको छाउनीमा वीरेन्द्र सैनिक अस्पताल छ । जहाँ झण्डै एक लाखको हाराहारीमा बहालवाला सैनिक र तिनका परिवारसहित अवकाशप्राप्तको उपचार हुँदै आएको छ । सरकारका पदाधिकारीदेखि ब्युरोक्रेसीतर्फ उच्च पदस्थहरूले पनि त्यहीँ उपचार गराउँदै आएका छन् । सैनिक कल्याणकारी कोषबाट सञ्चालित उक्त अस्पताल चरम अभावबाट गुज्रिरहेको छ। 

सरकारले अस्पताललाई एक रूपैयाँ पनि दिँदैन । सबै खर्च सेनाले नै धान्दै आएको छ । बिरामीको चाप बढिरहँदा चिकित्सकको संख्या न्यून छ । आर्मी अस्पतालले मात्र सेवा दिन नसक्ने अवस्था बनेपछि अर्को बनाउने प्रक्रिया अगाडि बढेको थियो । त्यसनिम्ति सेनाले नै जग्गा उपलब्ध गराउने सहमतिसमेत भएको हो । तर, अन्तिम समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले धोका दिएको बताइन्छ  । 

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू