सीमानामा गस्ती, हाकिमको मस्ती, कर्मचारीलाई सास्ती

सीमानामा गस्ती, हाकिमको मस्ती, कर्मचारीलाई सास्ती

जिल्लाका महत्वपूर्ण विषयको सूचना संकलनमा जुट्नुपर्ने राष्ट्रिय अनुसन्धान (गुप्तचर) का हाकिम नै एकपछि अर्को विवादमा तानिएपछि कपिलवस्तुका सूचकहरु हैरानी खेप्न बाध्य देखिन्छन् । बढ्दो अपराधिक तथा राजनीतिक घटनाक्रमका सूचना छाडेर उनीहरु सीमा क्षेत्रका तस्कर खोज्दै हिँड्नुपर्ने, रकम जोहोका लागि अनेक भेटघाटमा जुट्नुपर्ने अवस्था उत्पन्न भएको बताइन्छ । 

कपिलवस्तुका उपअनुसन्धान निर्देशक हिरण्य कुँवरमाथि गम्भीर आरोप लागेकाले उनी मातहतका अनुसन्धान सहायक, सूचक र सहसूचक गरेर १३ जनाको परम्परागत काम अर्कैमा परिणत हुन थालेको देखिन्छ । जनआस्थालाई प्राप्त एउटा अडियोबाट समेत कुँवरमाथि आरोप पुष्टि हुने अवस्था छ । 

हिजो सोमबार मायादेवी पकडीस्थित एकजना सञ्चारकर्मीलाई टायल, मार्बल तस्कर ठानेर हाकिमले आफ्ना विश्वासपात्र एक जना अनुसन्धान सहायकसँग टेलिफोनमा बार्गेनिङ गरेका थिए । टेलिफोन वार्तामा कुनै समस्या नहुने, एसपीसँग कुरा मिलिसकेको र बाँकी कुरा भेटमा मिलाउने भनिएको सुनिन्छ ।

असार पहिलो साता कपिलवस्तु पुगेका कुँवर शुरुदेखि नै विवादमा तानिएका हुन् । सुरक्षा समिति बैठकमा सुरक्षा अधिकारीहरुसँगको विवाददेखि पत्रकारका नाममा दशैं खर्च उठाइएका घटना यसअघि नै बाहिर आइसकेको छ । गत भदौ अन्तिम साता को. १ झ ४५५ नम्बरको सरकारी गाडीमा रातको २ बजे हर्दौना क्षेत्रमा पुगेर अवैध ब्रोइलर कुखुरा समात्न जाँदा कपिलवस्तुको गुप्तचर कार्यालय विवादमा तानिएको थियो । जिल्लास्थित सुरक्षा बैठकमा समेत आफ्नो सट्टा अर्का अधिकृतलाई पठाएपछि सरकारी कर्मचारीबीच उनको आलोचना हुने गरेको हो ।

मंसिर पहिलो साता ‘माथि’ को लागि भन्दै यशोधरा ६ रंगपुरका वडाध्यक्ष तथा चामल व्यापारी राजकुमार जैसवाल मार्फत् एक क्विण्टल कालानमक (महँगो चामल) राति ७ बजे तौलिहवाको रेडहर्स बसमा हालेर काठमाडौं पठाएको घटना गुप्तचरहरुबीच नै चर्चामा छ । मर्यादापुरमा खटिने एकजना अनुसन्धान सूचकमाथि मालवाहक ट्रकका चालकहरुले गम्भीर आरोप लगाउँदै आएको धेरै भइसकेको छ हिले मातहतका अनुसन्धान कर्मचारीहरु जागिर जोगाउनैका लागि अन्यत्र सरुवा माग्न थालेपछि घटनाहरु एकपछि अर्को बाहिर आएका हुन् । स्रोत भन्छ, ‘कार्यालय र कार्यालय प्रमुखमाथि लागेका गम्भीर आरोपलाई नजरअन्दाज गर्न नमिल्ने छ । तर, जिल्लामा बसेर जागिर खान सकिने अवस्था पनि छैन ।’

यस सम्बन्धमा कुँवरले आफूमाथि लगाइएका आरोप सबै कपोलकल्पित भएको बताए । उनी भन्छन्, ‘कुन कर्मचारीलाई के चित्त बुझ्दैन, फूलबुट्टा भरेर प्रचार गरेपछि कसको के लाग्छ ।’ तर टायल काण्ड सम्बन्धी अडियो जनआस्थासँग सुरक्षित छ ।

टिप्पणीहरू