प्रधानन्यायाधीशमाथि मञ्चमै प्रहार

प्रधानन्यायाधीशमाथि मञ्चमै प्रहार

‘श्रीमानलाई न देशको, न न्यायालयकै चिन्ता छ । फेस्टिभ मुडमा घुमिरहनुभएकै छ । जताततै शिलालेख राख्ने लहड जागेकै छ । मुख्य न्यायाधीशहरू रिक्त छन्, नियुक्तिको सुरसार छैन । प्रतिनिधिसभा विघटनको यत्रो ठूलो मुद्दा विचाराधीन छ, अग्राधिकार दिएर सुनुवाइ गर्न सक्नुहुन्न ? मुद्दाबाट पन्छिरहनु/भागिरहनुभएको छ । यहाँले न्यायालय त बनाउनुहुन्न नै यहाँकै कारण न्यायालय बिग्रियो/ध्वस्त भयो ।’ 

तराईको चिसोमा प्रधानन्यायाधीशलाई नै अगाडि राखेर एक वरिष्ठ अधिवक्ताले यसरी झाँको झारी फर्किएका छन् । प्रसंग गत साता अर्थात् अघिल्लो बुधबार २४ मंसिरको हो । १० डिसेम्बर अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले दुई दिवसीय राष्ट्रिय मानवअधिकार गोष्ठी आयोजना गरेको थियो जनकपुरमा । सोही गोष्ठीको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका थिए, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत । उनै राउतलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले देशैभरबाट उपस्थित कालोकोटवालाहरूकै अगाडि झाँको झारेका हुन् । राउत २३ गते नै उडेर जनकपुर पुगे र राष्ट्र बैंकको क्वार्टरमा बसेका थिए । भोलिपल्ट ११ बजेलाई तय भएको कार्यक्रम उनै प्रधानन्यायाधीश जनकपुर, महोत्तरीका केही मन्दिर दर्शन सकाएर फर्कंंदा निकै ढिलो गरी शुरु भयो । 

सर्वाेच्चका अर्काे न्यायाधीश विनोद शर्मा, सार्वजनिक मञ्चमा आफ्नै वचाऊमा अभिव्यक्ति दिएर फुर्सद नभएकी महान्यायाधीवक्ता सबिता भण्डारीका अलावा नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापा र निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेहरू अग्रभागमा थिए, वक्ताका रूपमा । कार्यक्रमको चेयर डा.. राजेन्द्र घिमिरेले गरिरहेका थिए । नेपाल बार मानवअधिकार फाँटको संयोजक रमण श्रेष्ठ भए पनि उनले राजीनामा दिएका कारण सहसंयोजक घिमिरेले कार्यक्रमको अध्यक्षता गरिरहेका थिए । जसै बरिष्ठ अधिवक्ता शम्भु थापाले बोल्नका लागि माइक समाए, शुरुवातदेखि अन्त्यसम्म उनी प्रधानन्यायाधीश राउतप्रति आक्रामक सुनिए । 

‘तपाईंले आफ्नो जिम्मा लिनसक्नुभएको छैन, के को देशभरका न्यायालयको जिम्मेवारी लिनुहुन्छ ? त्यत्रो प्रतिनिधि सभा बिघटनको मुद्दा विचाराधीन छ । अग्राधिकार दिएर हेर्न सक्नुहुन्न, आफू भूपू भएपछि मात्र हेर्ने पालो आउने गरी व्यवस्था मिलाइरहनुभएको छ । देशको, न्याय सुधार्ने केही कुरामा तपाईंलाई चिन्ता छैन । फेस्टिभ मुडमा घुमिरहनुभएको छ ।’यसरी वरिष्ठले पेलेपछि राउतले मञ्चबाट ‘कोर्ट बिग्रेको मेरो कारणले मात्र होइन, तपाईंहरू पनि उतिकै जिम्मेवार हुनुपर्छ ।’ भन्दै बचाउ गरेका थिए । 

रोचकचाहिँ जनकपुरमा यत्रो कार्यक्रम हुँदा सो क्षेत्रका मुख्य न्यायाधीश टेकनारायण कुँवर भने त्यता थिएनन् । उनी न्यायाधीश समाजको कार्यक्रमका लागि काठमाण्डौमा आइपुगेका थिए । मुख्य न्यायाधीश जसको मातहत तराईका जिल्लाहरू वीरगञ्ज, जनकपुर, राजविराज इजलासहरू हुन्छन् ।

(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू