कानुनभन्दा माथि हुन् धनगढीका हाकिम साबहरू ?

कानुनभन्दा माथि हुन् धनगढीका हाकिम साबहरू ?

दृश्य १ 

०८२ साल असोज २३ गते सुदूरपश्चिमको धनगढी नापी शाखा पुग्यौं । १०२ नं कोठाका अमिन सर दशैंको लागि घर गएका रहेछन् । चश्मा लगाउने अर्को कर्मचारीलाई कहिले आउनुहुन्छ अमिन सर भनेर सोध्यौं ? फलानो फाइल कहाँ छ  ? अरूलाई दिन मिल्छ कि भनेर सोध्दा बोलेनन् । मैले भनेँ– बोल्दा पनि पैसा लाग्छ  ? पछि झर्किएर भने– के थाहा, कहाँ राख्यो ? सर्वोच्चबाट निर्णयको पूर्णपाठ पनि आयो । अमिनले अंशको जग्गा नापिसकेपछि कागजी काम नापीले सकाउन किन डराएको ? हाकिमले कुरा बुझ्छन् कि भनेर मेरो सहारा र म माथि गयौं ।

कोठा नं १ का हाकिमले भने– ‘के हो, बुझ्छु । रोक्न त मिल्दैन ।’ उनले अब दशैं पछि आउनुस्’ भनेर फर्काए । 

दृश्य २ 

कात्तिक १२ गते म काम विशेषले काठमाडौं आइसकेको थिएँ । धनगढीमा मालपोत र नापी कार्यालय सँगसँगै छ । १ महिनाभन्दा बढी भैसक्यो मालपोतबाट निर्णय लागु गर्नु भनेर नापीमा पत्र पठाएको । नापीले कहिले के, कहिले के भनेर टारिरहेको । १२ गते नापी पुगिन् सहारा । १०२ नम्बर कोठाको अमिन सरले फेरि भोलि आउनु भनेर घर पठाइदिएछन् । भोलिपल्ट तिम्रो काम बन्दैन भन्ने कुरा भयो । हाकिमले हस्ताक्षर गर्न मानेनन् । विपक्षी स्वाँरहरु आएर झगडा गर्छन् कि भनेर । सर्वोच्चभन्दा ठूलो नापीका हाकिम ? मैले फोन गर्दा हाकिमले भन्नुभयो– ‘निर्णय प्रष्ट छैन ।’ मैले भनें– ‘प्रष्ट नभए यत्रो महिना किन नभनेको ?’

साहारालाई सम्झाउन खोज्दा भनिन्– ‘अब मालपोतले फेरि अदालत पठाउँछ । मलार्ई १ वर्ष दुःख दिन्छन् ।’ १३ गते दिनभर सहारा नापीमै रहिन् । त्यहाँबाट पत्र लिएर उनी आफैं अदालत गइन् । अदालतका अमिन परीक्षाले गर्दा बिदामा रहेछन् । 

१६ दिने महिला हिंसाविरूद्धको अन्तर्राष्ट्रिय अभियान चलिरहेको छ । हिंसाविरूद्धको लडाइँमा तिमीलाई सम्झेर, तिमीलाई जानकारी नगराइकन लेख्दैछु । अझै पनि सहने क्षमता छ । म तिम्रो साथी भएर पनि केही गर्न सकिन । कहीँ–कतै केही लेखौं भने तिमीलाई दुःख अझै बढ्ला कि भन्ने पीर । प्रक्रिया लम्बेला कि भन्ने डर । तिमीले जुन वकिलसँग भेटें भन्यौं । सुगालाई पढाएझैं त्यही गरे । सहाराको कथा लेख्ने हो भने एउटा पुस्तक बन्छ । नारी प्रधान फिल्म बन्छ । उनले समुद्रझैँ शान्त भएर लडिरहेको १४ वर्ष पुग्दै छ । उनी अर्थात् (सहारा) नाम परिवर्तन । दुःख दिने स्वाँर परिवार । 

छोरी मानिसले आत्महत्या गर्दा मन झसंग हुन्थ्यो । तिमीलाई फोन गर्थें । तिमीले पीडामा कति चाडपर्व छोड्यौ । कति वर्ष हाँस्न, रमाउन छोड्यौं । म मुकदर्शक बनें । तिमी आफ्नो सहारा आफै बन्यौ । सहाराले लड्दै गरेको यो लडाइँ सम्पत्तिका लागि होइन । आत्मसम्मानको हो । 

भन्छिन्, ‘मलार्ई अंश छुट्याउँदा पनि यति दुःख दिएको छ कि न राख्न मिल्ने, न बेच्न तर म छोड्दिन, पछि दान गर्नेछु ।’ यो आँटिली छोरीको सामाजिक मुद्दा हो । यदि उनी हारिन् र झुकिन् भने यो समाजमा कहिल्यै छोरीले जित्ने छैनन् । यदि उनले जितिन् भने समाजको लागि उदाहरणको पात्र बन्ने छिन् । सहाराले केस लड्दा लड्दै कति सरकारी कर्मचारीले पैसा खाए । यहाँ नाम लेख्दा, अदालतमा स्वाँर परिवारले गरेको बेइज्जती उल्लेख गर्दा, उनले रूँदारूँदा थाकेर अदालतको परिसरमा बगाएका आँशुको हिसाब राख्दा यो लेख लामो हुन्छ । जिल्लादेखि उच्च र उच्चदेखि सर्वोच्चसम्म १४ वर्ष धाउँदा कति दक्षिणा चढाउँदै हिँडिन् । उनलाई मात्रै थाहा छ । उनले दश ठाउँ बिन्ती नगरे अहिले पनि सुनुवाइ हुँदैनथ्यो होला । 

भाद्र २४ गते जेन–जी आन्दोलन भयो । सहाराले ज्यान बल्लबल्ल जोगाइन् । केही दिनमा उनको फोन आयो– देवकी, धनगढीको नापी र मालपोतमा हाम्रो फाइल पनि जल्यो होला है ! खै मेरै जीवनमा किन यस्तो हुन्छ ?’  बीचमा धनगढी पुग्ने अवसर मिल्यो । बुझ्दा फाइल सबै सुरक्षित रहेछन् । केही गाडीमा मात्रै आगो लगाएको रहेछ । सुनेर सहारा खुशी भइन् । अनि हामी नापी शाखा पुगेका थियौं असोज २३ गते । 

सहारााम कतिपटक आत्महत्या गर्ने सोच नपलाएको होइन । पढेलेखेकी थिइन् । जीवनमा सकारात्मक इख लिइन् । आत्मसम्मानको लडाइँमा उनलाई इन्स्पेक्टर महिला, सरकारी कर्मचारीले दिएका बचनहरू कहिल्यै बिर्सन नसकिने खालका छन् । 

पछिल्ला पाँच वर्षमा १ लाख ३ हजार महिला हिंसाका घटना भएका छन् भने ११५१ महिलाको त हत्या नै भएको छ । अझै पनि हाम्रो समाजमा महिलाले हिंसाको विरूद्ध बोल्दा, अधिकारको लडाइँ लड्दा कहीँ न कहीँ पुगेर चरित्रहिन र ह्या त्यो केटी नै त्यस्तै हो भन्ने आरोप लगाइन्छ । छोरीले खुलेर हाँस्यो कि फस्यो भनिन्छ । 

फरक यत्ति छ । पढेलेखेका मानिस र मिडियालाई हतियार बनाएर हिलो छ्याप्ने तरिका फरक छ । सुनाउने तरिका फरक छ । सायद सती प्रथा महिलामाथि यस्तै हिलो नछ्यापियोस् भनेर चलाइएको थियो कि ! आगोमा जल्यो स्वाहा । आफ्नी छोरीलाई सती प्रथाका लागि मञ्जुरी दिने र बुहारीलाई श्रीमान्सँगै सती जाऊँ भन्ने १०५ वर्षअगाडि र अहिले डिजिटल वार चलिरहेको बेलाको सोच एउटै हो ? सम्बन्धविच्छेद र श्रीमानको मृत्यु भएकी महिलालाई हेर्ने गिद्देनजर एक्टिभ छन् । सहारा, नितु, एलिना र कला त केही उदाहरण मात्र हुन् । समय र अवस्थाले बाध्य पारेर नबोल्ने धेरै छोरी छन् । ती छोरीहरूले जल्नुभन्दा बोल्नु उचित होइन र ?

(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)

 


 

टिप्पणीहरू