सिडिओको नाममा घुस उठाउने बग्रेल्ती
सिडिओलाईसमेत भाग लगाउनुपर्ने भन्दै घुस उठाउने गरेको ठूलो समूह पक्राउ परेको छ । आफूलाई लेखापढी व्यवसायी भनाउँदै “सिडिओलाई समेत भाग लगाउनुपर्छ, नत्र काम हुँदैन” भनेर सेवाग्राहीसँग घुस लिने गरेका २९ जनालाई प्रहरीले पक्रेको छ ।
विराटनगरमा मालपोत र प्रशासन कार्यालय आसपासका २९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कट्टेलको नाम प्रयोग गरी घुस माग्ने गरेको प्रमाण फेला परेपछि सिडिओ कट्टेलकै निर्देशनमा प्रहरीले कारबाही गरेको हो।
मालपोत कार्यालय क्षेत्रबाट २० जना र जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट नौ जना लेखापढी व्यवसायीको नाममा सक्रिय बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल स्क्रिनिङ गरिएको र दोषी ठहरिए घुससम्बन्धी आरोपमा कानुनी कारबाही अघि बढाउन लागिएको छ ।
बिचौलियाहरूले “सिडिओलाई पनि बुझाउनुपर्छ” भन्दै सेवाग्राहीसँग घुस माग्ने र घुस नदिएमा सरकारी कार्यालयमा अनावश्यक दुःख दिने गरेका थिए । उनीहरूले सामान्य फोटोकपीको समेत ५० रुपैयाँसम्म लिने गरेका थिए ।
टिप्पणीहरू