गोदावरीका मेयरको सफाइविरुद्ध सर्वोच्चमा चुनौती

गोदावरीका मेयरको सफाइविरुद्ध सर्वोच्चमा चुनौती

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित एक दर्जन बढीविरुद्ध दायर पाँच वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । 

विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगका अनुसार पुनरावेदनको फरक फरक पाँच वटा निवेदन दर्ता भएको छ । 

लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगबाट राजस्व नउठाई अनुचित लाभ लिएको ठहरसहित अख्तियारले गत वर्षको जेठ २१ गते मेयर महर्जन र उपमेयर अधिकारीसहित १४ जनाउपर मुद्दा चलाएको थियो । 

प्रदेश आर्थिक ऐनले निर्धारण गरेको राजस्व दर घटाई उनीहरूले आपसी मिलीभगतमा सात वटा ढुंगाखानी र क्रसर उद्योगलाई आर्थिक वर्ष २०७५–०७६ देखि २०७९–०८० सम्म एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ रुपैयाँ राजस्व छुट दिएको अख्तियारको दाबी छ । 

तर, विशेष अदालतको ०८१ साउन ३० गतेको फैसलाबाट प्रतिवादी सबैलाई पाँच वटै मुद्दामा सफाइ दिइएको थियो । त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च गएको हो ।

टिप्पणीहरू