जेन जीको नाममा भागबण्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ । पछिल्लो केही दिनयता चरणबद्ध छलफल गरिरहेका उनीहरूबीच आसन्न प्रतिनिधिसभा निर्वाचनमा ४०, २५–२५ र १० प्रतिशतको अनुपातमा सिट भागबण्डा गरेर जाने सहमति जुटेको बताइएको छ ।
स्रोतका अनुसार रास्वपाले ४०, कुलमान र बालेनले २५–२५ अनि जेन जी समूहलाई १० प्रतिशतको सीट भाग लगाउनेगरी आज–भोलिमै औपचारिक सहमति हुँदैछ । ‘मोटामोटी सहमति भइसकेको छ, उम्मेदवारहरूको विषयमा टुंगो लगाउन बाँकी छ’, जानकार स्रोतले भन्यो, ‘भोलिसम्म सहमति लिखित रुपमा तयार भइसक्छ, त्यसपछि घोषणा गछौँ ।’
बताइएअनुसार सहमतिलाई लिखित गर्ने जिम्मेवारी रास्वपा नेता शिशिर खनाल र बालेनका सहयोगी कुमार बेनले पाएका छन् । सहमति पत्रलाई अन्तिम रूप दिनुअघि रवि, कुलमान र बालेनबीच निर्णायक वार्ता हुन लागेको बुझिएको छ ।
बालेनले हिजो दिनभर कुपण्डोलस्थित बेनको घरमा रवि र कुलमानसहित विभिन्न पार्टीका नेता र जेनजी अगुवाहरूसँग सघन छलफल गरेका थिए ।
टिप्पणीहरू