ओलीको ठहर– ‘के को छलफल, अब ढिसमिस’
प्रेस चौतारीका अध्यक्ष पत्रकार गणेश पाण्डे र युवासंघका पोख्रेली नेता मञ्जिव क्षेत्रीबीचको अश्लिल गालीगलौज अनि महिला पदाधिकारीहरुको आक्रोशबारे रिपोर्टिङ गर्न आइतबार ओली निवास गुण्डुमा प्रेस चौतारीको टिम गएको थियो ।
बिहान साढे दश बजेको समय पाएको टोलीमा अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, सचिव नरेश भण्डारी, विष्णु तारुकेलगायत थिए । ओली १२ बजे बल्ल उठे । बधाई दिन जनवर्गीय संगठनका नेताहरू लाइन लगाएर गुण्डु पुगेका थिए । १२ देखि ३ बजेसम्म अरूको बधाई थापेपछि बल्ल चौतारीको पालो आयो ।
यही बेला भर्खर सचिव निर्वाचित भएका महेश बस्नेत आइपुगे । र, ओलीलाई भित्र लिएर गए । पछि–पछि गए गणेश पाण्डे । यतिबेलासम्म चौतारीको टोलीले ओलीलाई बधाइ दिइसकेको थियो । पाँच मीनेट जति भित्र बसेर बस्नेत बाहिर आए तर पाण्डे आएनन् ।
दश मीनेट जति ओलीसँग एक्लै कुरा गरेका पाण्डे निस्किए र ओली पनि सँगै आए । बाहिर आउनासाथ पाण्डेले भने, ‘बा, मलाई हिराजीले असहयोग गर्नुभयो, विज्ञप्ति पनि निकाल्नुभयो ।’ ओलीले भने, ‘विज्ञप्ति, के विज्ञप्ति ?’ त्यसपछि हिरामान लामाले विज्ञप्ति देखाए । ओलीले एकछिन पढे र भने, ‘अध्यक्षविरुद्ध विज्ञप्ति निकाल्ने ?’ हिरामान बोले, ‘बा, हामी पदाधिकारीहरू सबैले सल्लाह गरेर निकालेको हो ।’ ओलीले उपाध्यक्ष चेतन अधिकारीतिर हेरेर सोधे, ‘सल्लाह भएको हो ?’ ओलीको प्रश्न भुइँमा झर्न नपाउँदै अधिकारी बोले, ‘पहिलो ड्राफ्ट पाण्डेजीले तयार गर्नुभएको हो, त्यसमा हामीले सल्लाह गरेर फाइनल गरेका हौं र हिराजीले सही गरेर निकाल्नुभएको हो ।’
‘पाण्डेजी एउटा पक्ष हुनुभयो, अर्को पक्षका पनि कुरा छन्, पार्टी, संगठन र हजुरको पनि नाम जोडेर प्रचार गर्न थालियो, त्यसैले संगठन जोगाउन पर्छ भनेर विज्ञप्ति निकालेको हुँ,’ हिरामानले यति के भनेका थिए पाण्डे फेरि बोले, ‘हिराजीहरूले नै बढी उचाल्नुभएको छ ।’ महिलाहरूले धेरै नै संवेदनशीलरूपमा घटना उठाएको, संगठनलाई क्षति पुग्न सक्ने अवस्था आएको एक सचिवले बताए । उनका अनुसार ओली कुरा सुन्ने मुडमा थिएनन् ।
अन्तिममा ओलीले सुनाए, ‘उताबाट जे आयो, यसले उस्तै जवाफ फर्कायो, के बिग्रियो, के को छलफल ? अब ढिसमिस ।’ चौतारीका पदाधिकारीहरूलाई बस्नसमेत नभनी उभिइउभिइ ओलीले निर्देशन दिएका थिए । टोली ओलीको ‘अब ढिसमिस’ भन्ने निर्देशन सुनेर फर्कियो । बाहिर निस्केपछि ओलीसँग भएको छलफल गोप्य राख्ने सहमति भएको अर्का एक पदाधिकारीले सुनाए । ओलीलाई भेट्न चौतारीपछि युवासंघको पालो आयो ।
टिप्पणीहरू