पढ्न आउँछन् कि अर्थोकै गर्न आउँछन् विदेशी !

पढ्न आउँछन् कि अर्थोकै गर्न आउँछन्  विदेशी !

पढ्न भनेर आउने विदेशी नागरिकले अध्ययन भिसाको चरम दुरूपयोग गरिरहेको पाइएको छ । संस्कृत र बौद्ध धर्म पढ्न आएका विभिन्न मुलुकका नागरिकले भिसाविपरीतको काम गरिरहेको बारे नियमनकारी निकाय बेखबर देखिन्छन् ।

तिब्बती धर्मगुरु दलाई लामाका सुरक्षा सहयोगी तोङ न्याथ हुउन्थसँगै उनका भियतनामी र चिनियाँ साथीहरू संस्कृत विश्वविद्यालयमा अध्ययनका लागि २०८२ जेठ २४ गते चाइना इष्टर्न एअरको उडान नम्बर एमयु ८७१७ बाट नेपाल आएका थिए । जुन २६ मा रसुवा नाका हुँदै उनीहरू सडकमार्गबाट तिब्बत गएको देखिन्छ । तिब्बत विमानस्थलमा सिधा उडान हुँदाहुँदै उनीहरू सडकमार्गबाट जानुको कारण के होला ? 

काठमाडौंको भृकुटीमण्डपस्थित वाल्मिकी विद्यापीठमा संस्कृत भाषाको अध्यापन हुँदै आएको छ । त्यहाँ पढ्न अमेरिका, बेलायत, इटाली, फ्रान्स, अष्ट्रेलिया, क्यानाडालगायतका मुलुकबाट नागरिक आउने गरेका छन् । उनीहरू ६ महिनाका निम्ति भर्ना हुन्छन् । जबकि, संस्कृत भाषा ६ महिनामा सिक्न सम्भवै छैन । यसैले सो आगमन शंकास्पद भएको जानकारहरू बताउँछन् । स्रोत भन्छ, ‘नेपाली र भारतीयलाई त संस्कृत भाषा अप्ठेरो लाग्छ भने विदेशीले ६ महिनामा कसरी पढ्न सक्लान् ? यहाँ केही न केही रहस्यचाँहि छ ।’

यता, बौद्ध धर्मको अध्ययन, अध्यापन र अनुसन्धान गराउन नेपालमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भएको छ । लुम्बिनी प्रदेशको रूपन्देहीमा विश्वविद्यालयको केन्द्रीय कार्यालय छ । वि.सं. २०६३ सालमा ऐन जारी भएपछि विश्वविद्यालय संस्थागत रूपमा बलियो बनेको छ । तर, आफैंले सम्बन्धन प्रदान गरेको एक क्याम्पसका कारण विश्वविद्यालय किशोर अवस्थामै विवादित बन्न पुगेको बताइन्छ ।

भक्तपुरको साबिक सुडाल गाउँ विकास समिति–७, सरस्वतीथानमा थाङ्ग्रु शेखर रिट्रिट सेन्टर (कलेज अफ मेडिटेशन) नामक शैक्षिक संस्था छ । उक्त कलेजले विशेषगरी ध्यान र योगा, मार्पा तान्त्रिक परम्परा अध्ययन, अध्यापन र अभ्यास गराउनुका साथै बौद्ध दर्शन, ध्यान र रिट्रिट, तिब्बती भाषा र संस्कृतको सिकाई पनि प्रदान गर्छ । अमेरिका, बेलायत, जर्मनी, इटाली, स्पेन, चीन, फ्रान्स, पोल्याण्ड, रोमानिया, बेल्जियम र अष्ट्रियाका नागरिकले त्यहाँ अध्ययन गरिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ चैत १० गते अध्यागमन विभागलाई पत्राचार गर्दै २२ जनाको अध्ययन भिसा जारी गरिदिन भनेको थियो । जसमा बेलायतका स्लोप्लेन कटारजाइना ऐनी, लिच भिभियन जोएन, क्यानेल सारा लाउज, ऊलम्यान सारा ई, अल बसम फजिआ, बाइवार्टस अल्युन माल्थेऊ, संयुक्त राज्य अमेरिकाका फग्र्युसन इमाईली भिक्टोरिया, रोमानियाका सर्मन इलेना, इटालीका काररारो बारबरा, फ्रान्सका ऐनी छु मोन्मर्थी, अष्ट्रेलियाका विट्लिङ फ्रेन्चिज एण्ड्रिऊ डुमास, चीनका युआन छियोइङ, जाऊ छिनबाओ, छु हेक्यु, जोऊ योङचुन, लाङ जेङग्वाङ, जियाङ वेन्जिई, चेन छिपेई रहेका छन् ।

त्यस्तै, २०८१ वैशाख ६ गते पुनः २० विद्यार्थीको भिसाका लागि अध्यागमनलाई पत्राचार गरिएको छ । रोचक प्रसंग के भने, सो सूचीमा भएका अधिकांश विद्यार्थी २०७८ सालमै त्यहाँ भर्ना भएर पढेकामध्ये हुन् । अर्कोतिर, ६ महिनादेखि एक वर्षका लागि भिसा दिइएकोमा तीमध्ये केही अझै नेपालमै छन् ।

भक्तपुरमा अध्ययन–अध्यापन र तालिम लिनेगरी भर्ना भएका उनीहरूलाई काठमाडौंको बौद्धमा खाने र बस्ने प्रबन्ध मिलाइएको थियो । सुरक्षा स्रोतका अनुसार यस्तो व्यवस्था मिलाउने तिब्बती नागरिक हुन् । उनीहरूको बौद्धको ढुङ्कर गेष्ट हाउसमा तिब्बती शरणार्थीहरूसँग भेटघाट हुने गरेको स्रोतको जिकिर छ ।

महिनौंको दौडधुप र भागदौडका बीच साथीभाइ र परिवारसँग केही दिन रमाइलो गरी थकान मेटेर पुनर्ताजगीका साथ नयाँ ऊर्जासहित काममा फिर्ता आउने मनशायले निस्किएका नेपालीहरूलाई अध्यागमन विभागका कर्मचारीले छड्के आँखाले प्रश्न सोधेर हैरान पार्छन् । तर, अध्ययन भिसामा आएका विदेशीले यहाँ बसेर के–के गर्दा हुन् भनी खोजीनीति गर्दैनन् ।

नेपालमा रहँदा कहाँ–कहाँ जान्छन् ? के–के गर्छन् ? निगरानी राख्नु सरोकारवालाको दायित्व हो ।अवस्था यस्तो छ कि, एकपटक निश्चित रकम तिरेपछि कर्मचारीले सबै बाटो खुला गरिदिन्छन् । उनीहरूले जे गरेपनि सरोकारवाला निकायलाई चासो हुँदैन । उनीहरूको खातामा अध्ययन भिसा अवधिभरको लागि खान, बस्न र अन्य खर्चको जोहो कसरी होला ? बैंक खातामा कति रकम मौज्दात छ ? दैनिक कति रकम निकाल्न पाउने ? यस्ता बाध्यात्मक र अनिवार्य शर्तहरूमा कसले विचार पु¥याउने ?

अध्यागमन नियमावली, २०५१ को नियम ७, उपनियम २ मा लेखिएको छ, ‘आफूखुशी अध्ययन तथा अनुसन्धान गर्न चाहने विदेशीले नेपालमा रहँदा एकैपटक वा मासिक दामासाहीमा वार्षिक न्यूनतम तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा र निजका परिवारको हकमा वार्षिक न्यूनतम दुई हजार अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा खर्च गर्न सक्ने आधिकारिक स्रोत, सो बराबरको वैदेशिक मुद्राको सटही रसिद वा सो बराबरको नेपाली मुद्रा स्थानीय बैंकमा मौज्दात रहेको कागजात पेश गरेको आधारमा मात्र अध्ययन भिसा प्रदान गर्ने व्यवस्था छ ।’

तर, उनीहरूले खर्च गर्न पाउने रकमबारे कुनै व्यवस्था गरिएको छैन । केही रकम तिरेपछि शैक्षिक संस्थाले सहजै विद्यार्थी स्वीकार्छ । आचरण, स्वभाव, प्रहरीको चारित्रिक प्रमाणपत्र, इन्स्योरेन्स, स्वास्थ्य र आर्थिक सबलतामा ध्यान दिइन्न र अध्ययन संस्थाले न्यूनतम हाजिरी कति हुनुपर्ने ? भनी तोकेकोसमेत छैन ।

विद्यार्थी कलेज गए–नगएपनि वास्ता छैन । यता, अध्ययन संस्था, नियमनकारी निकाय शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच सो विषयमा समन्वयको अभाव छ । भिसा प्रयोजनका लागि अध्ययन संस्थाले पत्र बनाइदिन्छ तर उनीहरूले गलत गतिविधि गरेमा जिम्माचाँहि लिँदैन । बौद्ध धर्म अध्ययनका लागि आएका चिनियाँ नागरिक लेजी एलभीले ४२ पटक आवतजावत गरेको उडान हिस्ट्री छ ।

सिचुवानका बासिन्दा उनको पासपोर्ट नम्बर ई९९३५९५७२ हो । सन् २०१७ मे १६ मा जारी भएको पासपोर्टको म्याद सन् २०२७ मे १५ सम्म रहेको छ । उनी रिलेशन, टुरिस्ट र स्टडी भिसामा नेपाल आएको अध्यागमनबाट प्राप्त विवरणमा उल्लेख छ । पछिल्लोपटक सन् २०२४ अप्रिल २१ मा आगमन भएकोमा फर्किएको देखिँदैन । उनको मात्र नभएर अन्य केही विद्यार्थीको पनि उडान रेकर्ड एकदमै शंकास्पद देखिन्छ ।

अध्ययन भिसामा आएकाहरू शुरुमा पर्यटक भएर बस्छन् । पर्यटन भिसामा १५० दिन मात्र बस्न पाउने प्रावधान रहेकोले बसाइ लम्ब्याउन भिसा फेर्ने गरेका छन् । अध्ययन भिसा सकिएपछि केही म्याद गुजारेर बस्छन् भने केही फिर्ता भएर फेरि अर्को भिसामा आउँछन् । यस्तोमा तिब्बतियन बुद्ध धर्म मान्ने अमेरिकी, चिनियाँ, बेलायती र डेनमार्कका नागरिक धेरै छन् ।

अध्यागमन विभागका प्रवक्ता निर्देशक टीकाराम ढकालले अध्ययन भिसामा कडाइ गर्नका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गरिएको बताए । उनका अनुसार वर्षेनि ११ सयको हाराहारीमा यस्ता विदेशी नेपाल आउने गरेका छन् । जनआस्थासँग भने, ‘अध्ययन भिसाको दुरूपयोग भइरहेको हामीलाई पनि जानकारी छ । शैक्षिक संस्थामा अनुगमन गर्न नमिल्ने भएकाले शिक्षा मन्त्रालयलाई पत्राचार गरेका छौं । अनुगमन नभएमा सिफारिस नै नदिनेसम्म भनेका छौं ।’

(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू