गुलाफ चढाउने ठाउँमा अकस्मात गोली
भदौ २३ गते संसद भवनमा होनहार १९ युवा मारिएको घटनाले अझै पनि धेरैलाई बिझाउँछ । माइतीघरबाट सामान्य अवस्थामा शुरु भएको विरोध प्रदर्शन बानेश्वर पुग्दा कसरी असामान्य हुँदै गयो भन्नेमा विस्तारै आशंकाका पर्दा खुल्दैछन् ।
कहानी शुरु हुन्छ पोहोर चैत १५ को घटनाबाट । यी दुवै प्रकरणमा काठमाडौंको प्रहरी प्रमुख थिए विश्व अधिकारी । जो सिनियर भए पनि डिआइजीमा बढुवा हुन पाएनन् । पाँच एसएसपी १० कात्तिकमा बढुवा हुँदा उनी छुटेका थिए । जेनजी आन्दोलनपछि काठमाडौंबाट हटाएर गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएका उनी मंसिर १ गते मात्रै एकल बढुवा हुन सके ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको आग्रहमा उनले भदौ २३ गते माइतीघरदेखि बानेश्वरसम्मको सुरक्षा व्यवस्था खुकुलो बनाइदिएको स्रोत बताउँछ । ‘बालेनले चैत्र १५ गतेको सम्झनास्वरुप भदौ २३ गते संसद भवनमा गएर स्कुले पोशाकका विद्यार्थी भाइबहिनीले सिम्बोलिक रूपमा गुलाफको फूल चढाउने कुरा छ, कडाइ नगरिदिनु भनेर किलो वनलाई भनेका रहेछन्,’ स्रोतले भन्यो ।
बालेनको कुरा पत्याएर अधिकारीले हुन्छ भनेको स्रोत बताउँछ । ‘युनिफर्मसहितका स्कुले बच्चाहरू जाने भनेपछि विश्व सा’पले हुन्छ नि त भन्दिनुभएछ । यसैले ठूलो ब्यारिकेड पनि खडा गरिएन । एभरेष्ट होटलअगाडि एउटा काँढेतार राखेर दायाँ बायाँबाट गाडी जान मिल्ने गरी छोडिदिने स्थिति बन्यो, संसद भवनतिर पनि ब्यारिकेड राखिएन,’ सोतले भन्यो, ‘त्यसरी सुरक्षा कमजोरी गर्दा भदौ २३ गते त्यत्रो ठूलो मानवीय क्षति हुन पुग्यो ।’
माइतीघरदेखि बानेश्वरसम्म ठाउँठाउँमा ब्यारिकेड राखेर सुरक्षाकर्मी पनि थपेको भए त्यो दिन केही हजारको जुलुस तितरबितर हुने र ठूलो दुर्घटनाको स्थिति टर्ने अवस्था रहेको सुरक्षा निकायका प्रतिनिधिहरू बताउँछन् । ‘बालेन जसरी नै सुदन गुरुङले पनि २३–२४ मा शान्तिपूर्ण हुन्छ, अवाञ्छित गतिविधि हुँदैन, सार्वजनिक सम्पत्ति तोडफोड हुँदैन भनेर प्रशासनसँग अनुमति मागे तर त्यो त प्रशासनलाई झुक्याएजस्तो भयो । माइतीघर मण्डला वरपर केन्द्रित हुन्छौँ भनेर पानी बाँडे तर कालो पोशाक लगाएर बानेश्वरमा समेत घुसपैठ गरे,’ स्रोतले भन्यो, ‘स्कुले विद्यार्थीसँगै संसदभित्र छिर्नुपर्छ भन्ने योजनामा रहेछन् ।’
प्रहरीलाई झुक्याएर यसरी नै बल प्रयोग गर्न बाध्य बनाउने स्थिति निम्त्याइएको यसैबाट प्रष्ट हुन्छ । बालेनको आग्रह र विश्वको रिपोर्टिङबमोजिम त्यो दिन गृहमन्त्री रमेश लेखकले नै त्यतातिर प्रहरी अलिकति कम देखिनुपर्छ किनकि स्कुलका बच्चालाई उत्तेजित र भयभित बनाउन हुन्न भनेर किलो कन्ट्रोललाई निर्देशन दिएका थिए । भदौ २३ गते जेनजीको प्रदर्शनमा जम्मा ६ हजार मात्रै सामेल हुने आँकलनमा सुरक्षाकर्मी बसेको स्रोत बताउँछ।
दुनियाँलाई झुक्क्याउनमा बालेन र रवि लामिछाने माहिर भएको जगजाहेरै छ । ‘रवि र बालेन एउटै क्यारेक्टरका हुन्, उनीहरूले कतिसम्म झुक्याउँछन् भन्ने दुनियाँलाई अझै राम्रोसँग थाहा छैन,’ स्रोतले भन्यो ।‘कसरी मान्छे झुक्याएर चुनाव जित्छन्, राज्य संयन्त्रहरूलाई अल्मल्याउँछन् भनेर यी विभिन्न घटनाक्रमले देखाउँछन्,’ स्रोतले भन्यो, ‘अरु केही गर्नैपर्दैन, उनीहरूका स्टाटस हेरे पुग्छ ।’
२३ गते राजा आऊ, देश बचाऊ
जेनजीको नाममा आन्दोलन भए पनि भदौ २३ गते साढे ६ बजे बानेश्वरमा राजा आऊ देश बचाऊ भन्ने नारा लाग्न थालेको थियो । ‘त्यसपछि सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोलीले नारा लगाउनेलाई बानेश्वर चोकबाट शंखमुलतिर खेदेको थियो,’ सुरक्षास्रोतले भन्यो, ‘आन्दोलन जेनजीको भनियो तर तर नारा राजाको पक्षमा पनि लाग्यो । त्यसैले जेनजीको आन्दोलनमा क–कसले खेले र भड्काए भन्ने तथ्यका धेरै पाटा छन् । भदौ २३ र २४ गतेको घटनाको छानबिन र तथ्य एउटा मात्रै कोणबाट हेरेर हुँदैन । यसका धेरै पक्ष र परिस्थिति छन् ।’
(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू