पाेखराका राजमार्ग र मुख्य सडक छेउछाउमा व्यवसाय निषेध
कास्कीको पोखरामा पर्ने राजमार्ग छेउछाउ सञ्चालित कवाडी संकलन केन्द्र, वर्कशप, कारवास तथा ग्रिल उद्योग हटाइने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै त्यस्ता व्यापार व्यवसाय वा उद्यम हटाउन ३५ दिने सूचना निकालेको हो । त्यसले सवारी आवागमनमा कठिनाइ, शहरी सौन्दर्यता र वातावरण स्वच्छतामा असर पुगेको महानगरको ठम्याई छ ।
सूचनामा पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुल, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोक, पोखरा बागलुङ राजमार्गको जिरोकिमीदेखि फेदी र नगरका प्रमुख सडकहरुको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालित कवाडी संकलन केन्द्र, वर्कशप, कारवास तथा ग्रिल उद्योग अन्यत्र सार्न भनिएको छ ।
‘पोखरा महानगर क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदिसम्म र नगर क्षेत्रका प्रमुख सडकहरुको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी संकलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस प्रकृतिका उद्यम तथा व्यवसायहरु यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अन्यत्र व्यवस्थापन गर्न गराउनुहुन सम्बन्धित सवैमा अनुरोध गरिन्छ,’ महानगरले भनेको छ ।
महानगरले सडकपेटी कब्जा गरेर निर्माण सामग्री र साइनबोर्ड नराख्न पनि सचेत गराएको छ । अटेरी गरेर तोकिएको समयमा व्यवसाय अन्यत्र नसारे र जथाभावी सामग्री राखेको पाइएमा कानूनबमोजिम कारबाही गर्ने महानगरको चेतावनी छ । सूचनामा उल्लेख छ, ‘महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यमहरु सञ्चालन तथा सामाग्रीहरु राखेको पाइएको अवस्थामा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
टिप्पणीहरू