मिल्यो कि बिग्रियो इश्वरको हिसाब ?
हालै सम्पन्न एमाले महाधिवेशनमा केपी ओलीले जिते कि हारे? एमाले नेताहरू नै भन्छन्– यो प्रश्नको सान्दर्भिकता सकिएको छैन । नसकिनुको खास कारण खुलाउँदै एक नेताले भने, ‘उस्तै परे सचिवालयमा समेत ओली बहुमतमा छैनन् । केही समय मात्र पर्खनुस्, को कुन कित्तामा छन् प्रष्ट खुल्छ ।’ सम्बन्ध, सम्पर्क र ओलीलाई हेर्ने दृष्टिकोण केलाउने हो भने नै त्यो प्रष्ट हुने उनको जिकिर छ । अहिले नै सबै कुरा नखुल्ने पनि उनैले बताए । ओलीको कार्यशैलीका कारण अपेक्षा गरिएभन्दा चाँडै नै उनी हालैको महाधिवेशनबाट छानिएका नेताहरूबाटै अप्ठ्यारोमा पर्ने ती नेताको दाबी छ ।
हालै सम्पन्न महाधिवेशनमा प्यानलसहित उठेका ईश्वर पोखरेल समूहका नेताहरू चाहिँ आकलन गरे बराबरीको मत आएको भन्दै आफूहरू सफल भएको बताइरहेका छन् । चुनाव लड्नुपूर्व अनुमान गरेअनुसार ६ देखि ७ सयको संख्यामा सबैले मत प्राप्त गरेको हुँदा परिणामबाट आफूहरू सन्तुष्ट रहेको उनको भनाइ छ । एक नेताले बताएअनुसार, त्यसभन्दा बढी मतचाहिँ व्यक्तिगत प्रभाव र सम्बन्धका आधारमा प्राप्त भएको हो ।
आफूहरू जित्न नलडेको तर ओलीविरुद्ध लड्दा सम्मानित मत प्राप्त गरेको कारण नैतिक जित हासिल भएको विश्लेषण उनीहरूको छ । अघिल्ला महाधिवेशनहरूमा ओलीविरुद्ध प्यानल नै खडा गर्न सक्ने अवस्था थिएन । दश भाइका धेरैजसो पहिले नै अलग पार्टी खोलेर जाँदा पनि उनलाई टक्कर दिने तहसम्म इतर पक्ष मैदानमा उत्रनु नै विजय भएको विश्लेषणका साथ ईश्वर पोखरेल प्यानलका नेता–कार्यकर्ताले चित्त बुझाउने गरेको देखिन्छ । एकजना उपाध्यक्ष र उपमहासचिवबाहेक १२ जना केन्द्रीय सदस्य निर्वाचित भएको उनीहरूको दावी छ ।
अबको राजनीतिक दिशा कसरी अगाडि बढ्छ भन्नेमा स्वयं अल्मलिएको एमाले भित्रभित्रै चुनावको तयारीमा भने राम्रैसँग लागेको पाइएको छ । हालै सम्पन्न महाधिवेशनको क्रममा देशव्यापी कार्यकर्ताहरू परिचालित र चलायमान बनेका छन् । उता केपी ओलीले आफूलाई कुनै पनि प्रकारले कानुनी अड्चन वा समस्यामा पार्न खोजे तत्कालै सरकार ढालिदिने धम्की दिएर सरकारको मनोबल कमजोर र एकैसाथ कार्यकर्ताको मनोबल उच्च पार्ने काम गरेको एमाले नेताहरूको विश्लेषण छ । यदि म पुनः अध्यक्षमा निर्वाचित भइन भने सरकारले जेलमा पुर्याउँछ भन्ने जस्ता इमोशनल कुरा गरेर समेत उनले मत बढाएको पाइयो ।
(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू