तराईमा शीतलहर शुरू, सतर्कता अपनाउन अनुराेध

तराईमा शीतलहर शुरू, सतर्कता अपनाउन अनुराेध

तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई अपिल गरेको छ । 

जसअनुसार न्यानो लत्ताकपडा र उपकरणलगायत सामग्री तयारी अवस्थामा राख्न र आवश्यक परेको खण्डमा तत्कालै वितरणको व्यवस्था मिलाउन तथा त्यसो गर्न नसकिएमा सम्बन्धित निकायसँगको समन्वयमा दाउराको व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन छ । 

त्यस्तै, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचनाअनुरुप आवश्यक कदम चाल्न, शीतलहरबाट बच्न सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनिएको छ । 

प्राधिकरणले जोखिमपूर्ण संकटामन्न समुदायका व्यक्तिहरुलाई आवश्यक परेको खण्डमा न्यानो हुनेगरी सार्वजनिक भवन, मठमन्दिर, घर इत्यादिमा राख्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । 

‘जिम्मेवार सबै निकाय (संघीय मन्त्रालय, प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकायहरु, संयुक्त राष्ट्रसंघीय निकायहरु, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, निजी क्षेत्र, सञ्चार जगत्, वडा कार्यालय समुदायमा आधारित संघसंस्थालगायत) ले शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लिखित कार्यहरु गर्न गराउन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू