हत्यापछि लुटपाटमा तीनजना संलग्न

हत्यापछि लुटपाटमा तीनजना संलग्न

प्रहरीले हत्या र लुटपाटमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको छ । रत्नकुमारी कटवाल, सोबितमान थापामगर र रत्नमाया थापामगरको हत्यापछि लुटपाटमा संलग्नलाई ओखलढुंगाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–३, दियालेका २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नम्बर–४, रातेमाटेका ३० वर्षीय विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । 

गत असोज २६ गते राति सिद्धिचरण नगरपालिका–४, चार्खुकी ५२ वर्षीया रत्नकुमारीको हत्या भएको थियो । खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी उनको दाहिने पट्टीको कञ्चट तथा कानको भागमा बञ्चरो प्रहार गरी वीभत्स हत्या गरिएको थियो । 

उनको हत्या गरेर नगद र गरगहना लुटिएको हो । पुस १५ गते चिशंखुगढी गाउँपालिका–६, भदौरे गैरीगाउँस्थित सोबितमान किराना पसल सञ्चालन गरेर बस्ने ६० वर्षीय सोबितमान र उनकी श्रीमती रत्नमायाको हत्या भयो । 

रत्नकुमारीझैं दाहिने पट्टीको कञ्चट तथा कानको भागमा प्रहार गरेर उनीहरुको हत्या गरिएको थियो । दुवैलाई स्याउलाले छोपेर घरमा रहेको एक लाख नगद, सुनको दुई तोला गहना र काँचो सुन चार तोला चोरिएको थियो । 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले संयुक्त रुपमा घटनाको अनुसन्धान अगाडि बढायो । प्रहरीले पुस १७ र १८ गते उनीहरुलाई समातेको हो । उनीहरुको साथबाट एक बञ्चरो, सुनको औंठी, एक थान खुकुरी, रिचार्ज कार्ड, भरुवा बन्दुक र चार थान मोबाइल बरामद भएको छ । 

उनीहरुमाथि कर्तव्य ज्यान, डाँका सजाय र हातहतियार खरखजाना सजाय कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू