दुई पत्नीलाई छल्दाछल्दै आत्महत्या
समाचार भाइरल बनाउने होडबाजीमा मिडियाले कतिसम्म गर्छन् ? यसको पीडा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) नलप्रसाद उपाध्यायले झेलेका छन् ।
पुस १४ गते काठमाडौंको बुद्धनगरमा बलबहादुर थापामगर मृत अवस्थामा भेटिए । उदयपुर घर भएका ३० वर्षीय उनी बुद्धनगरस्थित डेराको शौचालयमा झुण्डिएका थिए । अनुसन्धानका क्रममा उनले घरायसी झैझगडाका कारण आत्महत्या गरेको खुलेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीका अनुसार थापामगरका दुईटी श्रीमती छन् । जेठी श्रीमती गाउँमा राखेका उनी बुद्धनगरमा कान्छी श्रीमतीसँगै बस्दै आएका थिए । ‘जेठीलाई कान्छी र कान्छीलाई जेठी भएको अत्तोपत्तो रहेनछ,’ प्रहरी स्रोतले भन्यो, ‘जेठी श्रीमतीसँग विवाहदर्ता गराएको रहेछ,एउटा छोरा पनि रहेछ । यता,कान्छीले विवाहदर्ता गराउन निरन्तर दबाब दिँदै आएकी रहिछन् । घटनाको अघिल्लो दिन पनि यही विषयमा झगडा परेको रहेछ । त्यही तनावले उनले आत्महत्या गरेको देखिन्छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले प्रारम्भिक अनुसन्धानका क्रममा थापामगरले घरायसी तनावका कारण आत्महत्या गरेको खुलेको बताए । घटनापछि उनकी कान्छी श्रीमतीले प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएको र त्यसउपर अनुसन्धान जारी उनको भनाइ छ ।
‘जेठी श्रीमतीसँग विवाहदर्ता गराएको रहेछ,एउटा छोरा पनि रहेछ । यता,कान्छीले विवाहदर्ता गराउन निरन्तर दबाब दिँदै आएकी रहिछन् । घटनाको अघिल्लो दिन पनि यही विषयमा झगडा परेको रहेछ ।
‘उनको दुईटा श्रीमती रहेको जानकारीमा आएको छ,कान्छीसँग बस्ने भएकोले उहाँले नै जाहेरी दिनुभएको हो । जाहेरीमा कसैको नाम उल्लेख छैन,’ एसपी भट्टराईले भने, ‘अहिलेसम्म आत्महत्याको कारण घरायसी तनाव नै देखिएको छ । तैपनि अनुसन्धान जारी छ ।’
प्रहरीले ‘आत्महत्या’ बताएको सो घटनालाई ‘नेपाली मन एचडी’ सहितका कतिपय सञ्चारमाध्यमले ‘हत्या’ दाबी गर्दै पूर्वडिआईजी उपाध्यायमाथि आरोप थुपारेका छन् । मृतक थापामगरलाई प्रहरी प्रधान कार्यालयले पूर्वडिआइजी उपाध्यायको घरमा ‘सहयोगी’ का रुपमा खटाएको थियो ।
प्रहरी हेडक्वार्टरले बहालवालासहित पूर्व विशिष्ट कर्मचारी (डिआइजीदेखि) को सहयोगका निम्ति उनीहरुको घरमा सहयोगी खटाउँदै आएको छ । सोहीअनुरुप थापामगर पनि उपाध्यायको घरमा खटिएकोमा कतिपय सञ्चारमाध्यमले उनीमाथि उपाध्यायले आत्महत्या गर्न बाध्य बनाएकोजस्ता भ्रामक समाचार फैलाएका छन् ।
भ्युजका निम्ति आफ्नो चरित्रहत्या गरेको पीडित उपाध्यायको गुनासो छ । उनले भने, ‘मैले गर्दै नगरेको पापको आरोप ममाथि लगाइएको छ । समाचार भाइरल बनाउन सम्बन्धित व्यक्तिलाई सोध्दै नसोधी,तथ्य र प्रमाणबिना त्यसरी जथाभावी लेख्न पाइन्छ ?’ आफूलाई बदनाम गराउने उद्देश्यसहित प्रकाशित–प्रशारित त्यस्ता समाचारउपर कारबाही गर्न प्रेस काउन्सिलसँग उनले अनुरोधसमेत गरेका छन् ।
टिप्पणीहरू