नक्कली नेपाली नोटमा भारतीय संलग्न, हाते मेशिन प्रयोग

नक्कली नेपाली नोटमा भारतीय संलग्न, हाते मेशिन प्रयोग

नक्कली नेपाली नोट छाप्दै आएका भारतीयसहित दुई जना समातिएका छन् । भारतको मोतिहारी बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तव र बाराको कलैया उपमहानगरपालिका–२, कबलपुरका २८ वर्षीय गौरीशंकर यादव समातिएका हुन् । 

गत पुस १६ गते प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलबाट ९३ हजार नक्कली नोटसहित ६ जनालाई पक्रेको थियो । सोही घटनाबारे अनुसन्धानका क्रममा श्रीवास्तव र यादव पनि समातिएका हुन् । प्रहरीका अनुसार उक्त कार्यमा यादवको संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको हो । 

यादवसँग नक्कली नोटबारे सोधपुछ गर्दा श्रीवास्तवले छाप्ने गरेको र त्यसका निम्ति आवश्यक सामग्री भारतबाट ल्याउने गरेको खुल्यो । साथै, उनी सामानसहित हिजो नेपाल आउन लागेको थाहा पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बारा प्रहरीसँगको समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो । 

उनको साथबाट भारतीय नम्बरप्लेट भएको बुलेट बाइक, पाँच सय दरका ३१७ थान भारु, मोनिटर, प्रिन्टर, हेडफोन, माउस, किबोर्ड, दश थान केबल तार, मोबाइल, सीपीयु, लेजर टोनर आठ थान, नक्कली पेस्तोल एउटा, लालीगुराँसको वाटरमार्क छापिएको एक हजार लेखिएको १८० थान कागज र सादा ७५ थान कागज बरामद गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू