लिचीबारीका मतियारलाई हाइसञ्चो
लिचिबारी काण्डमा संलग्न मन्त्री जेल चलान भए तर राजकुमार गुप्ताका मान्छेहरूको सिंहदरबारभित्र चलखेल यथावत् छ । गत वर्ष नै जनआस्थाले भाट, राणा, शाह हुँदै थकालीहरूका नाममा कास्कीको बाटुलेचौरस्थित १३५ रोपनी क्षेत्रफलको लिची बगैँचाको जग्गा हत्याउने योजनाअनुरूप बिचौलियाले आफू अनुकूलका कर्मचारी लैजान जति पैसा पनि पेल्न तयार भएको समाचार ब्रेक गरेको थियो ।
समाचारको पेटबोली यस्तो थियो, ‘बिचौलियाको एउटा समूहले कास्की मालपोतका प्रमुख चिरञ्जिवी पौडेललाई अवधि नपुग्दै जसरी पनि हटाएर लमजुङ मालपोतमा कार्यरत रामचन्द्र अधिकारीलाई लैजान आधा करोडको चलखेल गरिरहेको’ जनआस्था साप्ताहिकको वर्ष ३१, अंक ५, चैत्र २७ मा अर्थात अघिल्लो वर्ष ‘मास्कले मुख छोपेर दिनहुँ मन्त्रालय’ शीर्षकमा यो समाचार प्रकाशित भएको थियो ।
तीन महिनापछि जे–जस्ता घटनाक्रम भए र अडियो काण्ड बाहिर आयो सबै घटनाको पृष्ठभूमि जनआस्थाको सोही अंकमा प्रकाशित छ । सोही जग्गा हत्याउने योजनाअनुरूप बिचौलियाले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई प्रयोग गरेको थियो तर अख्तियारले लगेको मुद्दामा विशेषले पूर्वमन्त्री राजकुमार गुप्तालाई मात्र जेल पठाएको छ । रञ्जितालाई छुट दिएसँगै जाडो याममा पति रेशम चौधरीसँग पार्टी एकता प्रक्रिया अगाडि बढाएकी छन् ।
२०८२ असार ३१ गते घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियो लिक भएकै कारण उनी जेल चलान भएका हुन् । तर, उक्त मन्त्रालयमा उनको मतियार रही सरुवा बढुवामा रकम उठाउनेहरूकै रजगज चलिरहेको छ, अहिले पनि ।
मन्त्री गुप्तालाई सहयोग गरेका रोजेर ल्याइएका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ । सो मन्त्रालयमा पूर्व मुख्यसचिव एकनारायण अर्यालकी जेठीसासू चन्द्रकला पौडेल सचिव छिन्, उनी पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको समेत नातेदार हुन् । सो समयमा कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका कालीप्रसाद पराजुलीले गृह मन्त्रालय पुगेर कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका छन् ।
सोही समय मन्त्री गुप्ताको सरुवा फाँट सम्हालेका उपसचिव भुवनेश्वर लामिछाने सामान्यको आन्तरिक व्यवस्थापन शाखामा छन् । सवारी साधन मर्मत, मसलन्द खरिदलगायत काम हेर्छन् । मन्त्री गुप्ताको पिए रहेका तत्कालीन उपसचिव अमित ढुङ्गानाले ललितपुरको महालक्ष्मी नगरपालिकामा पुगेका छन् । यसअघि योगेश भट्टराई मन्त्री हुँदा उनका निजी सचिव थिए ।
याे पनि....
मास्कले मुख छोपेर दिनहुँ मन्त्रालय
टिप्पणीहरू