फिलिपिन्समा समातिएका पाठकलाई ल्याइँदै

फिलिपिन्समा समातिएका पाठकलाई ल्याइँदै

अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको  छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ का ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरमा पक्राउ परी त्यहाँको प्रहरी हिरासतमा छन् ।

फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बिआइ) ले उनलाई नियन्त्रणमा लिइएको जानकारी अस्ति शनिबार दिएको थियो । पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट डिफ्युजन नोटिस जारी भएको थियो । 

उनलाई फिलिपिन्सले निष्कासन (डिपोर्टेसन) प्रक्रिया शुरु गरेको र यताबाट लिन जाने टोली एक दुई दिनमा ‘मुभ’ गर्ने स्रोतले बतायो  । पाठकले राईलगायत सरकारी अधिकारीहरुलाई इमेल र फेसबुक भिडियो सन्देशमार्फत् पटक पटक ज्यान लिने धम्की दिएका थिए ।

प्रहरीका अनुसार उनको विगत पनि आपराधिक पृष्ठभूमि रहेको पाइयो । यसअघि चार पटकसम्म सार्वजनिक अपराधदेखि ठगी तथा आपराधिक विश्वास,आपराधिक लाभलगायत विभिन्न कसुरमा मुद्दा चलाइसकिएको प्रहरी अभिलेखमा देखिन्छ ।

यसबीच प्रहरीले सहकारी ठगीमा संलग्न जिबी राईको पनि खोजी भइरहेको जनाएको छ । मलेसियामा रहेका भनिएका उनलाई लोकेशन पत्ता लागिसक्यो र केही दिनभित्र नेपाल ल्याइने सार्वजनिक जानकारी तत्कालीन गृहमन्त्री रवि लामिछानेले दिएका थिए । तर,उनी आफैँ सहकारी ठगीमा सरकारले मुद्दा चलाएपछि हाल धरौटीमा रिहा भएका छन् ।

टिप्पणीहरू