ट्रम्पले ‘अब ग्रीनल्याण्ड चाहिन्छ’ भनेपछि युरोपेली नेताहरु क्रुद्ध

ट्रम्पले ‘अब ग्रीनल्याण्ड चाहिन्छ’ भनेपछि युरोपेली नेताहरु क्रुद्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकाको सुरक्षा दृष्टिले अत्यन्त महत्वपूर्ण भन्दै पुनः कब्जाको संकेत गरेपछि युरोपेली मुलुकहरूले कडा प्रतिक्रिया जनाएका छन्। भेनेजुएलामा एकाएक गरिएको अमेरिकी सैन्य गतिविधिपछि आएको ट्रम्पको उक्त अभिव्यक्तिले युरोपमा नयाँ सुरक्षा चिन्ता थपिदिएको छ।

द अटलान्टिकसँगको अन्तर्वार्तामा ट्रम्पले ‘ग्रीनल्याण्ड हामीलाई चाहिन्छ’ भनेपछि डेनमार्क र ग्रीनल्याण्डले तुरुन्तै विरोध जनाएका हुन्। डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रेडरिकसेनले अमेरिकालाई ग्रीनल्याण्ड कब्जा गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दै यसलाई नजिकको मित्र राष्ट्रमाथिको धम्कीको रूपमा व्याख्या गरेकी छन्। ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले पनि अमेरिकाको आपत्तिजनक भनाइलाई “पूर्णतः अस्वीकार्य” गरिदिएका छन् ।

नोर्डिक देशहरू नर्वे, फिनल्याण्ड र स्विडेनका नेताहरुले पनि ग्रीनल्याण्डको भविष्यबारे निर्णय गर्ने अधिकार डेनमार्क र ग्रीनल्याण्डको मात्रै भएको बताएका छन्। फ्रान्स, जर्मनी, बेलायत, इटली र अष्ट्रियालगायत युरोपेली मुलुकहरू डेनमार्कप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको विरोधमा उत्रिएका छन् ।

डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिकसेनले ग्रीनल्याण्डमाथि अमेरिकी सैन्य कारबाही भए उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) गठबन्धन नै धरापमा पर्नसक्ने चेतावनी दिएकी छन्। युरोपेली संघले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र संयुक्त राष्ट्रसंघीय चार्टरको सम्मान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

युरोपेली नेताहरूले ट्रम्पको अभिव्यक्तिलाई गम्भीर सुरक्षा चुनौतीको संकेतका रूपमा लिँदै अमेरिका–युरोप सम्बन्धमा तनाव बढ्नसक्ने चेतावनी दिएका छन्। दक्षिण अमेरिकी मुलुक भेनेजुएलामाथि गत शुक्रबार राति भीषण सैन्य कारबाही गरेको अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई राष्ट्रपति भवनबाट उठाएर न्युयोर्क पुर्याएको छ । भेनेजुएलाको विशाल पेट्रोलियम भण्डार र बहुमूल्य खनिजमा आँखा लगाउँदै आएको अमेरिकाले राष्ट्रपति मदुरोमाथि लगाइएका विभिन्न आरोपको कानुनी उपचारको आवरणमा आफ्नो अदालतमा उभ्याएको छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू