अमेरिका छिर्न सजिलो छैन अब

अमेरिका छिर्न सजिलो छैन अब

अमेरिका जान खोज्ने कतिपय  नेपालीले भिसा लिनका लागि १५ हजार डलर धरौटी राख्नुपर्ने भएको छ । अमेरिकाले नेपाललाई ‘भिसा बण्ड’ लागु हुने देशहरूको सूचीमा राखेपछि सात समुन्द्रपारीको देशमा जाने सपना देखेका नेपालीहरूलाई करिब २० लाख नेपाली रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधानले झस्काइदिएको छ ।

नयाँ व्यवस्थाअनुसार अमेरिकी भिसा आवेदकहरुले ‘अमेरिका गएर समयमै फर्किन्छु’ भन्ने ग्यारेन्टीस्वरूप ठूलो रकम धरौटी राख्नुपर्ने छ ।

जनवरी २१ अर्थात् आगामी माघ ७ गतेदेखि लागु हुने गरी,अमेरिकाले बी–१ (व्यापार) र बी–२ (पर्यटन) भिसामा जाने नेपाली नागरिकसँग ५ हजारदेखि १५ हजार अमेरिकी डलर (करिब ७ लाखदेखि २० लाख रुपैयाँ) सम्म धरौटी माग्नसक्ने व्यवस्था गरिएको छ ।

दूतावासले आवेदकबाट अमेरिका पुगेर भिसा अवधि सकिएपछि नफर्कने जोखिम देखिएमा यो बन्ड माग्नेछ । भिसाका अन्य मापदण्ड पूरा गरे पनि ‘ओभरस्टे जोखिम’ देखिएकालाई मात्र यो व्यवस्था लागु हुने बताइएको छ । धरौटी रकम ५ हजार वा १५ हजार डलर भन्ने विषय अन्तर्वार्ताका क्रममा तोकिने छ ।

तोकिएको समयभित्र सम्बन्धित व्यक्तिले अमेरिका छाडेमा धरौटी राखिएको पूरै रकम फिर्ता हुने छ । तर ओभरस्टे गरेमा रकम जफत हुनेछ । भिसा बन्डअन्तर्गत भिसा पाउनेहरूले अमेरिका प्रवेश र प्रस्थान गर्दा निर्धारित न्युयोर्क,वासिङ्ग्टन र बोस्टन तीन विमानस्थल मात्र प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो समय अमेरिका पुगेपछि भिसा अवधि सकिँदा पनि स्वदेश नफर्कने देशहरूको सूचीमा नेपालको ओभरस्टे दर उच्च देखिएपछि यस्तो व्यवस्था लागू भएको जनाइएको छ ।

टिप्पणीहरू