रुकुमबाटै चुनाव लड्ने जनार्दनको तयारी

रुकुमबाटै चुनाव लड्ने जनार्दनको तयारी

तत्कालिन पार्टी अध्यक्ष प्रचण्डसँग बारम्बारको टकरावपछि छुट्टै पार्टी गठन गरेर नयाँ पुस्तालाई अवसर दिने उद्घोष गरेका तत्कालिन माओवादी नेता जनार्दन शर्मा प्रभाकर रुकुम पश्चिमबाटै चुनाव लड्ने तयारीमा रहेका छन् । 

माओवादी केन्द्र,एकीकृत समाजवादी लगायत विभिन्न दलहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेपछि एकता प्रक्रियामा नगएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका शर्मालाई रुकुम पश्चिमबाटै उम्मेदवार बनाउने निर्णय जिल्ला पार्टीले गरेको छ । पार्टी नेता दलबहादुर खड्काले आज बसेको जिल्ला कमिटी बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गरेको जानकारी दिए । 

जनार्दन शर्माले २०६४ सालपछिका सबै निर्वाचन साविक माओवादीबाट लगातार जित्दै आएका छन् । नयाँ पार्टी गठनपछि साबिक माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ताहरु प्रचण्ड नेतृत्वकै नेकपामा रहेपछि आफ्नै जिल्लामा पार्टी जोगाउन जनार्दन आफै अघि सर्नुपरेको बताईएको छ । प्रलोपाले अहिले वडा स्तरमा पार्टी संगठनका गतिविधिहरु सञ्चालन गरिरहेको छ । नेकपाले भने वडा वडा हुँदै पालिका र जिल्ला स्तरका विभिन्न कार्यक्रमहरु गरेर बहुमत कार्यकर्ताहरु आफ्नै पक्षमा रहेको दावी गरिरहेको छ । 

रुकुमबाट विभिन्न चुनाव जितेपछि जनार्दन शर्माले विभिन्न मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । शान्ति, उर्जा,गृह र अर्थ मन्त्री भइसकेका शर्माको यस पटकको चुनावी यात्रा भने आफ्नै गृह जिल्लामा चुनौतीपूर्ण देखिएको छ । पार्टी गठनपछि पहिलो पटक जिल्ला आउँदा जनार्दनलाई आफ्नै पूर्व कार्यकर्ताहरुले कालो झन्डा देखाएर बिरोध समेत गरेका थिए । 

नेताहरुको सम्पत्ति छानबिन र पुस्तान्तरणको जोडदार माग गरेर प्रचण्डसँग सम्बन्ध चिस्याउन पुगेका जनार्दन शर्मा फेरि पनि आफै चुनावमा अग्रसर हुने भएपछि यस पटकको चुनाव थप रोचक हुने देखिएको छ ।

टिप्पणीहरू