हलभित्रै श्रद्धाञ्जली

हलभित्रै श्रद्धाञ्जली

हृदयाघातका कारण बितेका नेपाली कथानक चलचित्र पहिचानका नायक तथा गायन रियालिटी शो ‘इण्डियन आइडल’ का विजेता प्रशान्त तामाङ्गलाई हलभित्रै श्रद्धाञ्जली दिइएको छ । विराटनगरको सेन्ट्रल मलमा रहेको सिनेमाघरमा सिनेमा हेर्न पुगेका दर्शकहरुले उनको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

पहिचान चलचित्रको विशेष शो हेर्न पुगेका दर्शकहरुले हलभित्रै उनको निधनको खबर पाएका थिए । त्यसपछि उनीहरुले एक मीनेट मौन धारण गरेर शोक प्रकट गरेको विराटनगरका रंग पत्रकार प्रेम देवानले जानकारी दिए । ४३ वर्षीय प्रशान्तको भारतको दिल्लीस्थित आफ्नै घरमा मृत्यु भएको हो । 

सन् १९८३ जनवरी ४ मा दार्जिलिङमा जन्मिएका उनी भारतीय प्रहरीमा जागिरे थिए । जागिरकै क्रममा उनी ‘ईण्डियन आइडल’ को विजेता बनेका हुन् । उनले गोर्खा पल्टनसहित थुप्रै नेपाली गीत गाएका छन् । उनी गोर्खा पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लोकप्रिय कलाकारका रुपमा पनि चिनिन्छन् ।

टिप्पणीहरू