जेनजीहरूले बुझ्नै नचाहेको कुरा
अहिले जेनजी नेता भनेर आफ्नो परिचय दिँदै हिँड्ने युवाहरूको खास समस्या के हो ? पछिल्लो राजनीतिलाई विश्लेषणात्मक ढंगबाट हेर्ने सचेत नागरिकले यही प्रश्न सोधिरहेका छन् । कारण हो– जेनजी नेताहरू बीचमा बन्न नसकेको एकता र सबैका अलगअलग माग र सोचाइ हुँदा बढ्दो टकराव । अझ ठूलो समस्याचाहिँ के देखिएको छ भने नयाँ पुस्तामा राजनीतिबारे सामान्य जानकारीसमेत छैन ।
विश्लेषकहरूले यस्तो निष्कर्ष निकाल्न मिल्ने घटना केही दिनअघि जमलस्थित एल्लो पगोडा होटलमा भएको थियो । त्यहाँ, चर्चित जेनजी नेता मिराज ढुंगानालाई कार्यक्रम आयोजक कृष्णमान प्रधानले स्टेजमा राखेपछि दर्शक दीर्घामा बसेका लेनिन बिष्टको समूहले विरोध गर्यो । उनीहरूको भनाइ थियो– मिराजले भन्ने गरेका कुराहरू हाम्रो विचारसँग मिल्दैनन् । त्यसैले उनका भनाइलाई आमजेनजीको भनाइ मान्न पाइँदैन । त्यसो गर्नु गलत हुन्छ ।’ मिराजले शासकीय स्वरूपमा परिवर्तन नगरी चुनाव हुन सक्दैन भन्ने धारणा राख्दा अहिले चुनाव नै हुनु हुँदैन भन्ने विचार बिष्टको समूहले अघि सारेको देखियो । भावना राउतलेचाहिँ हामीले यही संविधानभित्रबाट समाधान खोजेको हो । यसमा संशोधन गर्नुपर्छ र निर्वाचन गरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा राखेकी थिइन् ।
त्यहाँ जेनजी नेता भन्नेहरूले राखेका धारणा र विचार सुनिसकेपछि राजनीतिक शास्त्रका जानकारहरू निकै निराश बनेको बताउँछन् । एक जनाले निकै निराशायुक्त भावमा भने, ‘धेरै अप्ठ्यारो देखियो । खासमा युवामा राजनीतिसम्बन्धी ज्ञानको अभाव रहेको महसुस गरें ।’ उनका अनुसार भ्रष्टाचार विरोध र सुशासनको मागसहितको आन्दोलन अपेक्षा गरेभन्दा भिन्नै ढंगले टुंगेपछि युवाहरू अलमलमा परेका हुन् । शासकीय स्वरूप के हो भन्नेसमेत उनीहरूलाई जानकारी छैन । उनीहरूले बुझेको शासकीय स्वरूप सरकार बनाउने विधिमा मात्रै केन्द्रित छ ।
अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गरिरहेका छन् तर त्यसो गर्दा के कसरी खोजेको र सोचेको जस्तो शासन व्यवस्था बन्छ भन्ने विषयमा उनीहरूलाई थाहै छैन । कुन–कुन मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छन् । र, त्यहाँ कसरी शासन व्यवस्था अघि बढिरहेको छ भन्नेसमेत न उनीहरूले खोजेको, हेरेको, पढेको वा त्यसबारे गमेको पाइन्छ । युवाहरूले शासकीय स्वरूपमा परिवर्तन भनेको सिधा आफूले भोट हालेर कार्यकारी प्रमुख छान्ने मात्रै बुझे । ती राजनीतिक शास्त्री उदाहरण दिँदै भन्छन्, ‘बाहिर हेर्नै पर्दैन ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह सबैका मेयर बन्न सके कि सकेनन् ? उनी पनि प्रत्यक्ष निर्वाचित मेयर नै हुन् ।’ जब एउटा महानगरको मेयर प्रत्यक्ष निर्वाचित हुँदा यति बढी उद्दण्ड र स्वच्छन्द बन्छ भने कुनै प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित बनेमा उसको व्यवहार कस्तो होला ? केपी ओली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री थिए तर उनले कानुन मिच्ने, संविधानलाई वास्ता नगर्ने र अधिनायकवादी प्रधानमन्त्रीको छवि बनाएकै कारण आखिर हेलिकप्टरमा चढेर बालुवाटारबाट भाग्नुपर्यो ।’
एक जना विश्लेषकले प्रत्यक्ष निर्वाचित भएकै कारण बालेन साहमा आएको अधिक दम्भ र व्यवहारमा देखिएको मैमत्तापनको उदाहरण दिँदै भने, ‘उनले शनिबार श्रीमती अस्पतालबाट सरकारी गाडीमा फर्कने क्रममा भएको चेकजाँचलाई लिएर जसरी आक्रोश प्रदर्शन गरे, यदि राजनीति बुझेका र जनउत्तरदायी मेयर हुन्थे भने त्यसमा आफ्नो बाध्यता र कमजोरी दुवैलाई महसुस गर्दै भित्रभित्रै व्यवस्थापन गर्थे । यही हो प्रत्यक्ष निर्वाचितमा देखिने कमजोरी र राजनीति नबुझेकाले गर्ने व्यवहारको समस्या ।’
यी सबै कुराको निचोडमा जानकारहरू भनिरहेका छन्– समस्या शासकीय स्वरूपमा होइन, बरु हाम्रा व्यवहार, चिन्तन र सोचमा छन् । व्यक्तिमा रहेको समस्यालाई हामी शासकीय प्रणालीको समस्या भन्ने भूल गरिरहेका छौं । दलका नेताले पार्टीबाहिरबाट संविधानलाई कहिले पनि हेरेनन् । आफ्नो अनुकूलतामा संविधान मिच्ने काम गरे । त्यसको आ–आफ्नो व्याख्या र विश्लेषण गर्दै अनुचित लाभ लिने काम गरे ।
संविधानले गर्न नहुने भनेका कामलाई गर्न मिल्दैन भनेर पन्छाएनन्, बरु संविधानकै अपव्याख्या गर्दै आफ्नो लाभ हेरिरहे । संविधानले पिछडिएको वर्ग र समुदायका मानिसहरूको प्रतिनिधित्व होस् भनेर व्यवस्था गरेको समानुपातिक प्रतिनिधिहरूको ठाउँमा विनोद चौधरी र राज्यलक्ष्मी गोल्छा जस्तालाई नियुक्त गरे ।
(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू