प्राविधिक विश्वविद्यालयमा पहिलोपटक बिटेकको पढाइ
मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ ले सिभिल इञ्जिनियरिङतर्फ स्नातकमा बिटेकको अध्यापन गराउने भएको छ । कोशी प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयले मुलुकमै पहिलोपटक सो संकायमा अध्यापन गराउन लागिएकाे जानकारी दिइएकाे छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा कोर्स पुरा गरेका जुनियर सिभिल इञ्जिनियरलाई स्नातकमा भर्ना गर्ने तयारी गरेको छ । बिटेक पढाइका लागि मनमोहनले स्विस सरकारसँग औपचारिक सम्झौता पनि गरिसकेको छ ।
हिजो स्वीस कन्ट्रयाक्टका कन्ट्री डाइरेक्टर सञ्जय कार्की र मनमोहनको इञ्जिनियरिङ संकायकी डिन डा.रेखा श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । विश्वविद्यालयको उपकुलपति डा.सुवासश्री पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
सम्झौताअनुसार मनमोहनले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इञ्जिनियरहरुका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गरेर पठनपाठन गराउनेछ । जसमा कार्य आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेशागत तथा उद्योग परिषद्हरुसँगको परामर्श र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकताअनुरुपका दक्षताका मापदण्डहरु समेटिनेछन् ।
विश्वविद्यालयले आफ्नो आंगिक शिक्षालयमार्फत टिबेट युनिभर्सिटीअन्तर्गत तीन वर्षे डिप्लोमा सञ्चालन गरेर सिभिल, ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स र मेकानिकलतर्फका जुनियर इञ्जिनियर उत्पादन गर्दै आएको छ ।
टिप्पणीहरू