रातभर मतदान, कुपन लिन र कपडा बोकेर आउन माइकिङ
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि जारी मतदान थप कष्टकर बन्ने भएको छ । भोटिङ्ग सिस्टम अत्यन्तै ढिलो हुँदा मतदान भोलि बिहानसम्म चल्ने अवस्था छ । रातभर पनि मतदान हुने भएपछि मतदानस्थलमा ‘न्यानो कपडा लिएर आउन’ माइकिङ गर्न थालिएको छ ।
सहभागी एक प्रतिनिधिका अनुसार सबैलाई कुपन लिएर जान र कपडा लिएर आउन आह्वान गरिएको छ । उनले भने,‘मतदान सकिँदा भोलि बिहान १० बज्छ जस्तो छ । सबैलाई कुपन लिएर घर जान भनिएको छ । गएपछि को फर्किन्छ, यस्तो जाडोमा ।’
भोट हाल्नका लागि एकातिर ठेलमठेल भइरहँदा अर्कोतिर प्रतिनिधिहरुले भोटिङ्ग सिस्टमप्रति असन्तुष्टि जनाइरहेका छन् । एमालेले बस्ने व्यवस्था नमिलाएकाले उनीहरुलाई घर फर्किन पनि समस्या भएको अवस्था छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटित एमालेको एघारौं महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा जारी छ । प्राविधिक समस्याका कारण हिजो मतदान हुन नसकेपछि आज बिहान ९ बजेदेखि मतदान थालिएको हो । २३ सय हाराहारी प्रतिनिधिमध्ये हालसम्म ९०० जनाले मतदान गरेका छन् ।
एक जना प्रतिनिधिलाई मतदान गर्न पौने घण्टादेखि दुई घण्टासम्म लागेको अवस्था छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक घण्टा १० मीनेट लगाएर मतदान गरेका थिए । त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई एक घण्टा २८ मीनेट र नेता विष्णु पौडेललाई २६ मीनेट लागेको जानकारी दिइएको छ ।
टिप्पणीहरू