अर्को एउटा अग्निपरीक्षामा एमाले
नेपाली राजनीतिको केन्द्रीय धुरी मानिने एमालेको महाधिवेशन नजिकिँदै छ । यो महाधिवेशन एमालेको आन्तरिक राजनीति मात्रै नभएर सम्पूर्ण राष्ट्रिय राजनीतिको दिशा निर्धारण गर्ने एक महत्वपूर्ण परिघटना सावित हुन सक्छ । महाधिवेशनले निर्वाचित गर्ने कार्यकारी र तय गर्ने नीतिले देशको राजनीतिक गठबन्धन, शासन प्रणाली र लोकतान्त्रिक मूल्यको भविष्यमा गहिरो प्रभाव पार्नेछ । तर, यो महाधिवेशन आउँदा पार्टीभित्र र बाहिर अध्यक्ष केपी ओलीको नेतृत्वमा एउटा ठूलो प्रश्नचिह्न देखिएको छ ।
ओलीमाथि लाग्न थालेका ‘हठी’, ‘अहंकारी’ र ‘अधिनायकवादी’ जस्ता आरोपले पार्टी र राष्ट्र दुवै स्तरमा गम्भीर बहस र चिन्ता जन्माएका छन् । एमाले अध्यक्ष ओली नेपाली राजनीतिका सबैभन्दा चलाख र विवादास्पद पात्रमध्ये एक हुन् । पार्टीभित्र र बाहिर पनि उनलाई हठी र आलोचना सुन्न नचाहने नेता भनेर आरोप लागिरहेको छ, प्रतिस्पर्धा नचाहने नेताको पहिचान बनेको छ । उनको असहिष्णु रवैयाकै कारण माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, भीम रावलजस्ता वरिष्ठ नेता बाहिरिए । पार्टीभित्र रहिरहेका अन्य मानिसलाई आफ्नो असहमति राख्न डराउनुपर्ने अवस्था छ । झट्ट हेर्दा पार्टीभित्र ‘एकल नेतृत्व’ को छवि निर्माण भएजस्तो देखिए पनि, भित्री असन्तुष्टि बढ्दै गएको स्पष्ट देखिन्छ ।
राष्ट्रिय स्तरमा, विशेष गरी ‘जेनजी’ आन्दोलनपछि ओलीको छविमा ठूलो धक्का लागेको छ । जेनजी टोलीले त आँखा फुटे मन पराउँदैनन् । सार्वजनिक रूपमा युवाप्रतिका कठोर टिप्पणीले जेनजीविरोधी नेताको छवि बनाइदिएको छ । चिया पसलदेखि, सार्वजनिक बसभित्र र सामाजिक सञ्जालसम्म कडा आलोचना सुनिन्छ । यस्तो आलोचना र आक्रोश पार्टीभित्र पनि देखिन्छ । समर्थक ‘झोले’ (भक्तहरू) ले स्तुति मात्र गर्छन्, यो धरातलीय यथार्थ सुनाउन सक्दैनन् । आजको दिनको कुरा गर्ने हो भने ओलीको राष्ट्रिय स्वीकार्यता गम्भीर रूपमा चुनौतीमा परेको छ तर यो कुरा बताउन कसैले हिम्मत गर्दैनन्, विरोधीको कुरा उनी सुन्दैनन् ।
ओली नेतृत्व विकल्पको खोजी दुवै क्षेत्रमा शुरु भएको छ । पार्टीभित्र, विकल्प खोज्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनको समूह सक्रिय रुपले लागिरहेको छ । वरिष्ठ र कनिष्ठ धेरै नेता–कार्यकर्ता र युवाको ठूलो हिस्साले पनि परिवर्तनको आवाज उठाउन थालेका छन् । तर, आजको समयमा ओलीलाई सबैभन्दा ठूलो चुनौती पार्टी बाहिरबाट आएको छ । ‘जेनजी’ आन्दोलनले प्रतिनिधित्व गरेको नयाँ राजनीतिक चेतनाले एमाले र ओली दुवैको विकल्प खोज्ने प्रयासलाई गति दिएको छ । युवाको नयाँ विचार, पारदर्शिता र जवाफदेहिताको मागले नयाँ आन्दोलन सिर्जना गर्ने वातावरण पनि बन्दै गएको छ । र, यसलाई संबोधन गर्न उनले सक्दैन वा चाहँदैनन् भन्ने आमबुझाइ नै बनिसकेको छ । एमाले स्वयं र नेपाली लोकतन्त्रको भविष्य सुनिश्चित गर्न नयाँ बाटो अपनाउनुको विकल्प छैन ।
यो बहसको केन्द्रमा एउटा मौलिक प्रश्न छ; के एमालेले आफ्नो पुरानो, कडा र केन्द्रिकृत नेतृत्वको बाटो नै जारी राख्नेछ वा यसले नयाँ विचार, नयाँ दृष्टिकोण र युवा शक्तिलाई समेट्ने सहिष्णु र लोकतान्त्रिक बाटो अपनाउनेछ ? एमालेका लागि, नयाँ बाटो भनेको कार्यकारी छान्नु मात्र होइन । यसको अर्थ हुन्छ आन्तरिक लोकतन्त्र कायम गर्दै पार्टीभित्र विचार, बहस र आलोचना संस्कृतिको विकास गर्नु । वरिष्ठताभन्दा योग्यता र समयको मागलाई प्राथमिकता दिनु । ‘जेनजी’ आन्दोलनले पैदा गरेको रोषलाई बुझ्नु र राजनीतिमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्ने रूपान्तरणकारी नीति ल्याउनु । चिया पसलमा सुनिने आलोचनालाई ‘विपक्षी प्रचार’ भनेर खारेज नगरी, त्यसलाई आफ्नो नीति र व्यवहार सुधारको आधार बनाउनु । राष्ट्रिय सहमति निर्माणको निम्ति कठोर राजनीतिक बयानभन्दा समन्वय, संवाद र सहकार्यमा आधारित राजनीतिलाई अगाडि सार्नु । यस्तो कार्यनीति एमालेको लागि मात्रै फाइदाजनक नभएर, सम्पूर्ण नेपाली लोकतन्त्रका लागि आवश्यक छ ।
एउटा ठूलो दलले आफूलाई सुधार गरेमा अरू दलमा पनि सकारात्मक प्रभाव पर्छ । नीतिगत बहसले प्राथमिकता पाउनेछ, व्यक्तित्वमा आधारित राजनीतिको अन्त्य हुन जानेछ र लोकतान्त्रिक मूल्य बलियो हुनेछन् । एमालेले यदि परिवर्तनलाई आत्मसात गर्न सके, यो दल फेरि देशको अगुवाइ गर्न सक्ने अवस्थामा फर्किन सक्छ । यदि गर्न सकेन भने ऐतिहासिक भूमिकाबाट टाढा हुनेछ र नयाँ राजनीतिक शक्तिले त्यसको ठाउँ लिनेछन ।
टिप्पणीहरू