प्रचण्ड कमरेडका बुझिनसक्नु पारा
समय यति शक्तिशाली हुँदो रहेछ कि मानिसलाई कहाँ पुर्याइदिन्छ पत्तै नहुने रहेछ । अहिले माओवादी र प्रचण्डको सन्दर्भ पनि ठ्याक्कै त्यस्तै भएको छ । बाध्यता वा परिस्थितिले सृजना गरेको आवश्यकता जे भने पनि माओवादी ब्राण्डबाट प्रचण्ड अलग हुन पुगेका छन् । उसो त प्रचण्ड आफूलाई गतिशील राख्न चाहने राजनीतिज्ञ हुन् । र, उनी नयाँ–नयाँ प्रयोग गरिरहने पात्र हुन् । कहिले माओवादलाई मार्गनिर्देशक वैचारिक हतियार मान्छन्, कहिले माओवादकै विकास गरेर प्रचण्डपथ बनाउँछन् । अनि फेरि नारायणकाजीहरूसँग एकता गर्ने भन्दै प्रचण्डपथ छाडिदिन्छन्, कहिले ओलीसँग एकता गर्ने भन्दै माओवाद बुझाउँछन् त कहिले माधव नेपालको मन राख्दिनका लागि माओवादी पार्टी र माओवाद नै भुलिदिन्छन् ।
उहिलेका प्रचण्ड माओवादी जनयुद्धका डिजाइनर र जनमुक्तिसेनाको सर्वाेच्च कमाण्डर थिए । माओवादी पार्टीको अध्यक्ष थिए, उत्पीडित जाति, समुदाय, क्षेत्र, लिङ्गको अधिकारका लागि लड्ने नेता थिए । शहीद, बेपत्ता परिवारको आशाको दियो र घाइतेहरूको आदर्श थिए । तर, अहिलेका प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीको एकथान संयोजक र पूर्वप्रधानमन्त्री हुन् । अहिलेका संगतियारहरू बाबुराम, विप्लव र प्रभाकरहरू होइनन् न किरण र बादलहरू नै हुन् । अहिले प्रचण्डका सारथीहरू माधव, झलनाथ हुन् । विभिन्न स्थानबाट जमघट भएकाहरूको नेतृत्व गरेर नै प्रचण्ड उमेरले सत्तरी काटिसक्दा पनि बाँकी राजनीतिक लडाइँ लड्ने तयारी गर्दै छन् ।
हुन त राजनीतिमा थुप्रै बाध्यता हुन सक्ला । सहकार्य गर्दा गिभ एण्ड टेक गरिएला तर आफ्नो पहिचान र अस्तित्व मेटाएर कसैले कसैसँग सहकार्य गर्दैनन् । कुनै दुई वस्तु एकअर्कामा बिलय भएपछि कि नवनिर्माण हुनुपर्दछ कि वीनवीनको अवस्था हुनुपर्दछ ।
भर्खरै प्रचण्डको नेतृत्व रहने गरी निर्वाचन आयोगमा तारा चुनाव चिह्नसहित नेपाली कम्युनिष्ट पार्टी दर्ता भएको छ । अब यही पार्टी र चुनाव चिह्नबाट उनले चुनाव लड्ने निश्चितप्राय छ । कुनै समय माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादीजस्तो आमबुझाइ बनेको थियो । पटकपटक विभाजनको मार खेपेको माओवादी पार्टीको कपिराइट प्रचण्डसँग नै थियो तर अब माओवादीको पहिचान प्रचण्डबाट खोसिएको छ ।
यो मामिलामा प्रचण्डले जोखिम मोलेकै मान्नुर्छ । अब माओवादी समर्थकहरूले माओवादी जनयुद्धमा त्याग, बलिदान गर्नेहरूले, गुमाएका या पाएकाहरू कसैले पनि प्रचण्डलाई हँसिया हथौडामा भोट हाल्न पाउने छैन । अरु कुनै चिह्नको लाइनमा नजर लगाउनु पर्नेछ । प्रचण्डलाई जिताउन पर्यो भने माओवादीलाई होइन, अरु पार्टीलाई नै भोट हाल्नुपर्नेछ । समय फेरिएको हो या प्रचण्ड फेरिएको हो कसैले भेऊ पाएको छैन । सायद त्यो प्रचण्डलाई पनि थाहा छैन । किनकि पहिला पनि माओवादी पार्टी र माओवादसँग प्रचण्डको विछोड भइसकेको छ ।
थुप्रै विरोधाभाषका बीचबाट यात्रा गरिरहने प्रचण्डलाई बुझ्ने कसरी हो, जिम्मा इतिहासलाई छोड्दा नै उपयुक्त हुन्छ । समाजले अस्थिर भनिरहने तर आफूलाई गतिशिल लागिरहने, समाजले अवसरवाद भनिरहने तर आफूलाई ट्याक्टिकल मुभ लागिरहने, समाजले पदलोलुप भनिरहने तर आफूलाई चार दशकसम्म पार्टी अध्यक्ष भएर देशको सेवा गरियो भन्ने लागिरहने, समाजले त्यत्रो शक्तिशाली आन्दोलनको क्षयीकण देखिरहने अनि आफूलाई चाहिँ साथीभाइ र परिस्थितिको कारण हो जस्तो लागिरहने , यी द्विविधाहरूले आजको परिस्थिति सृजना भएको हुनुपर्छ ।
यति हुँदाहुँदै पनि पूर्व माओवादीबीच सहकार्य र एकताका प्रयास नभएका होइनन् । अभैm माओवादी आन्दोलनमा पुनर्गठनको बहस र छलफल जारी छन् तर विषय नजिकिनेभन्दा टाढिने भैरहेको छ । तीता कुरालाई प्रश्रय दिइरहेको देखिन्छ । सत्य कुरा के हो भने प्रचण्डले माओवादी छाडे पनि माओवादी मुद्दाले, शहीद, बेपत्ता योद्धाको परिवारका आँशुले, घाइते योद्धाहरूको चिच्याहटले प्रचण्डलाई छाड्ने छैन । जनताले माओवादी आन्दोलनको तीन घुम्तीलाई नजिकबाट देखेका छन् । पहिलो घुम्ती जनयुद्धको, दोस्रो संविधानसभाको र तेस्रो वर्तमान अवस्थाको । सबैभन्दा सङ्कटपूर्ण घुम्ती अहिलेको हो ।
२००३ सालतिर जन्मेको काङ्ग्रेसको पहिचान जीवित छ, २०४८ सालमा जन्मेको एमाले जिउँदै छ, अनि २०५२ सालमा गठित माओवादीको पहिचान वा अस्तित्वमाथि किन प्रश्नचिह्न खडा भयो ? राजनीतिक शक्ति मुद्धाका आधारमा कहिले बलियो हुन्छ, कहिले कमजोर बन्छ । त्यसलाई स्वभाविकै मान्नुपर्छ तर हरेक पार्टीको उदयका पछाडि केही न केही पृष्ठभूमि हुन्छ । त्यो नै उसको पहिचान बन्छ । नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी बन्ने अवस्थाबाहेक अन्यथा माओवादी पार्टी र माओवाद जनयुद्धको नेतृत्वले त्याग्नु बिल्कुलै असान्दर्भिक हो ।
त्यसै गरी प्रचण्डकै पूर्व सारथी विप्लवको नेतृत्वमा माओवादी निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लव पनि गुलाफको फूल चुनाव चिह्न लिएर संसदीय प्रतिस्पर्धामा हेलिँदै छन् । यसरी हेर्दा इतिहासमा लोप हुनबाट माओवादी पार्टी र माओवाद कानुनी रूपमै जोगिएको छ ।
जुनजुन उद्देश्यले संसदीय प्रतिस्पर्धामा उत्रिए पनि अबको प्रतिस्पर्धा रोचक नै हुने देखिन्छ । अहिलेकै अवस्थामा निर्वाचन भए प्रचण्डको प्रतिस्पर्धा माओवादीसँग हुनेछ । सुन्दा अनौठो लाग्न सक्छ तर सत्य त्यही हो । कम्युनिष्ट र गैरकम्युनिष्टबीचमा प्रतिस्पर्धाको वातावरण बन्नुपर्ने हो । सगोत्रीहरूबीचको भिडन्तले केही शक्तिशालीहरूको राजनीतिक दुखान्त हुने सम्भावना पनि बलशाली छ । पहिल्यै असफल भइसकेका केही प्रयोग फेरि नयाँ संस्करणमा हुने संभावना देखिन्छ । ओली–प्रचण्डको सहकार्य जति सफल हो एकता त्यति नै असफल हो ।
आजको आवश्यकता सबै बाम एकै ठाम हुनुपर्ने हो । विभाजनभन्दा एकता हुनु राम्रो हो तर एकतासँगै विभाजन हुनु राम्रो होइन । नेपाली वाम आन्दोलनमा जे नहुनुपर्ने हो, त्यही पटकपटक दोहोरिइराखेको छ । कसले कसलाई निल्ने, कसले कसको बिगार्ने भन्ने मनोदशाले ग्रसित यो आन्दोलन अझै सुध्रने दिशातिर देखिँदैन । खेलमा जानी नजानी प्रचण्ड पनि सहभागी छन् ।
त्यसैले प्रचण्ड रङ्गी–बिरङ्गी सेना लिएर माओवादीसँग प्रतिस्पर्धा गर्न उत्रिएका छन् । यदि यो परिस्थिति सम्हाल्ने अवस्था भएन भने सर्मनाक क्षति हुनबाट कसैले जोगाउन सक्दैन । बरु सकिन्छ बृहत बाम एकता वा सहकार्य गर्ने, सकिँदैन भने आफ्नो राम्रोसँग सम्हाल्ने । यसैमा सबैको भलो हुनेछ ।
टिप्पणीहरू