नेपालीपन यता, मन कता ?

नेपालीपन यता, मन कता ?

भौगोलिक हिसाबले सानो भएपनि नेपालमा संसारकै अग्ला हिमाल, सुन्दर प्रकृति र अनेकौं सम्भावना छन् । तर हामी नेपाली सुखको खोजीमा भौंतारिएका छौँ। कस्तुरीले आफ्नो विनाको सुगन्ध नचिनेझैँ हामी पनि बेखबर छौँ। 

पुर्खाले आर्जेको भूमि र कमाएको इज्जत–बहादुरी तथा इमानको अवमूल्यन गर्दैछौँ। दर्जनौँ दल र समूहमा विभाजित मनभित्र नेपालीपन हराउँदै गएको छ। त्यहाँ कम्युनिष्ट, कांग्रेस, पञ्च र नयाँ नामका अनुहार मात्र देखिन्छ । दाजुभाइ–दिदीबहिनी, आमाबुवा, मित्र र छिमेकीभन्दा पनि दल–समूहका प्रतिस्पर्धी मात्रै देखिएका छौं ।

सद्भाव, सहयोग र सहकार्यको सट्टा अस्वस्थ प्रतिस्पर्धा, डाहा, इष्र्या मनभित्र पसिसकेपछि हातेमालो हराउँदै घरदेखि घटासम्म द्वन्द्व सिर्जना भएको छ। नेपालभित्रै आत्मीयता, सद्भाव र नेपालीपन निख्रिँदै गएको छ। कारण—नेतृत्व गर्ने, मन्त्री बन्ने, सत्ता सम्हाल्नेहरू देश बनाउने होइन, द्वन्द्व बढाउने, आफैँ मात्र कमाउने र आफू–आफ्ना मात्र रमाउने प्रवृत्तितर्फ उन्मुख छन्।

एकलाई पीर पर्दा अर्कोले साथ दिने चलन गाउँ–बस्तीबाट समेत ओझेल हुँदैछ। छिमेकमा कोही बिरामी पर्दा बोकेर अस्पताल पुर्याउने, घरमा कुर्न पर्दा पालो गरेर कुर्ने चलन थियो । आफ्नोमा भएको गोरस, फलफूल वा मिठा खानेकुरा छिमेकी तथा बिरामीको घरसम्म बाँड्ने प्रचलन थियो। 

खेतीकिसानीका काम सबैले मिलेर सम्पन्न गर्थे। अशक्त व्यक्ति वा परिवारको काम सबै छिमेकी मिलेर गरिदिन्थे । मर्दा–अप्ठेरो पर्दा, विवाह–ब्रतबन्ध, पूजा–पाठमा सबै जुटेर सहयोग गरिन्थ्यो । अहिलेझैँ पार्टी प्यालेस वा होटलमा विवाह भोज हुँदैनथ्यो । मिलेर पकाएर जन्तेबाख्रो खाने चलन थियो। 

हल्दी, मेहन्दी जस्ता पारिको चलन थिएन । बिहेको कुरो छिनेर रातो टीका लगाएपछि जन्ती जाने–दुलही ल्याउने चलन थियो। गच्छे अनुसार विवाह सम्पन्न गर्ने संस्कारलाई ऋण निकालेर भए पनि देखाउने गणतान्त्रिक (?) आडम्बरले समाजमा बेमेल, परिवारमा पीडा र अशान्तिको जरो झन् गहिरो हुँदै गएको छ । 

बढ्दो ऋणको भारीले गरिब र मध्यम परिवार उठ्नै नसक्ने अवस्थामा पुगेको छ । बहुदल, गणतन्त्र र जेन–जी सरकारसम्म आइपुग्दा पनि असल संस्कार–परम्परा जगेर्ना गर्ने वा विसंगति हटाउने आवाज उठेको छैन ।

असल संस्कारको जगेर्ना र विसंगति हटाउनेभन्दा पनि प्रधानमन्त्री–मन्त्री को बन्ने ? सचिवालयमा को जाने, परिवर्तनका नाममा लाभ कसको पोल्टामा पार्ने ? भन्ने मात्र होड अहिले पनि जारी छ । राष्ट्र र राष्ट्रियता क्रमशः ओझेलमा परेको छ । भ्रष्टाचार हटाउने भनिन्छ तर कर्मले उल्टै प्रोत्साहन गरिआएको छ । 

गरिखाने सर्वसाधारणको हितबारे दलका बैठकमा वा संसदमा छलफल हुन छाडेको छ । यसो हुनुमा मनभित्र नेपालीको सट्टा विदेशी संस्कार र विदेशीपन हावी मुख्य कारण हो । किशोर र युवामा भविष्य नदेखेपछि जतिसक्दो छिटो भिसा लगाएर कमाउन विदेश जानुपर्छ भन्ने मान्यता हावी छ। 

नेता–मन्त्रीलाई सरकार वा लाभको अवसरमा पुगेर कमाउनु, रमाउनु छ। होइन भने युवालाई देशमै बस्नसक्ने वातावरण किन बनाइएन ? पञ्चायतकालमा बनेका उद्योग–कारखाना निजीकरण गर्न सकिन्छ, तर नयाँ उद्योग–कारखाना स्थापना गर्न नचाहने कारण के होला ? भएका भौतिक संरचना ध्वस्त पारेर, आपसमा राजनीतिक कित्ताकाट गरेर वैमनस्यता बढाउँदै हामीले कस्तो सुख–समृद्धि खोज्दैछौं ?

युवा विद्रोहपछि अब चुनाव होला–नहोला, भए पनि कस्ता अनुहार आउलान् ? नेपाललाई जोगाउने, गरिखाने आम नेपालीका हितमा काम गर्ने नेपाली मन कसरी चिन्ने ? कहाँ भेट्ने ? कहिलेसम्म स्वर्गजस्तो देश ‘मेरो’ भन्ने तर महंगी र अशान्तिले पिल्सिरहनुपर्ने ?

टिप्पणीहरू