अमेरिकाबाट कर्मचारी फर्काउन उजुरी

अमेरिकाबाट कर्मचारी फर्काउन उजुरी

अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका कर्मचारीहरुको गैरकूटनीतिक व्यवहारप्रति त्यहाँ रहेका नेपालीले आवाज उठाएका छन् । उनीहरुले कर्मचारीहरुको ‘मनपरी’ व्यवहारविरुद्ध अनुसन्धानको माग गर्दै नेपाल फिर्ताको अनुरोध गरेका हुन् ।

विदेशी भूमिमा सेवा गर्न बसेका कन्सुलेट कर्मचारीले नेपालीकै अभिव्यक्ति रोकेको,मनपरी व्यवहार गरेको जनाउँदै क्यालिफोर्निया निवासी माधव मरासिनीले परराष्ट्र मन्त्रालयलाई इमेल लेखेका छन् । नेपाली कन्सुलेटका केही कर्मचारीले सामाजिक सञ्जालमा नेपालीलाई ब्लक गरेको,आलोचना सहन नसकेको र गैरजिम्मेवार व्यवहार गरेको आरोप मरासिनीको छ । 

उनले मन्त्रालय,वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावास र अमेरिकी विदेश मन्त्रालयको सम्बन्धित विभागलाई समेत बोधार्थ दिएका छन् । सोधिएको छ, ‘विदेशमा रहेका नेपालीहरुको सेवा र आवश्यक सहजीकरणका लागि स्थापित कन्सुलेट अफिस कतिपय कर्मचारीको व्यक्तिगत वैमनश्य र मनोमानीको अखडा हो ?

इमेलमा उनले चार वटा विषय उठाएका छन् । पहिलो,स्वतन्त्र र निष्पक्ष छानबिन,दोस्रो, छानबिन अवधिभर कर्मचारीलाई काठमाडौं फिर्ता, तेस्रो, विदेशस्थित कन्सुलेटमा पारदर्शिता र जवाफदेहीको व्यवस्था र चौथो, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सम्मानजनक व्यवहारको ग्यारेन्टी गर्नुपर्ने उनको माग छ । 

वासिङ्ग्टनस्थित दूतावास र अन्यत्रका कन्सुलेट अफिसका कर्मचारीले सामाजिक सञ्जालमा हुने आलोचनालाई ‘ब्लक’ गर्ने गरेको गुनासो अमेरिकामा रहेका नेपालीबीच पहिले नै थियो । ‘जनताको सेवाभन्दा सोसल–मिडिया ब्लक–लिस्ट लामो भएको कन्सुलेटमा सुशासन कसरी हुन्छ ?’ मरासिनीको जिज्ञासा छ ।

टिप्पणीहरू