जिबीले छाडे मलेसिया, पुगे दुबई
सहकारीमा बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेर फरार गितेन्द्रबाबु उर्फ जिबी राई दुबई पुगेका छन्् । नेपालबाट भागेर मलेसिया पुगेका उनी पछिल्लो समय दुबई सरेका छन् । उनी त्यहीँ सेटल भइसकेको पारिवारिक स्रोत बताउँछ । उनले नेपाली नागरिकता त्यागेर दुबईको आईडी कार्डसमेत बनाइसकेका छन्।
‘अब नेपाल फर्किन्न भन्छन्, उनका कारणले दाजुभाइलाई समस्या परेको छ,’ स्रोतले भन्यो । उनी त्यहाँको नागरिक भइसकेकाले पक्राउ गर्न सजिलो छैन । सुनकाण्डमा मुछिएपछि दुबई भागेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) का परराष्ट्र सल्लाहकार जीवन गुरुङ पनि दुबईमै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करीमा संलग्नता देखेपछि प्रहरीले उनलाई समातेको थियो । काठमाडौं जिल्ला अदालतबाट १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका उनी भागेर दुबई गई उतैको आइडी बनाए । ओखलढुंगाको सुनकोशी गाउँँपालिका–१ बस्ने जिबीका बुवा यसअघि नेकपा एमालेबाट गाविस अध्यक्ष थिए । जेठा दाजु अनन्तबाबु तनावका कारण योगातिर लागेका छन्् । जिबीले आफ्ना परिवार, दाजुभाइ, नातागोता सबैको माया मारेको स्रोतको जिकिर छ । स्रोत भन्छ, ‘यहाँ जेसुकै होस्, उनी आउनेवाला छैनन् । परिवार, दाजुभाइ, नातागोता सबैको माया मारिसके ।’
राई र उनको समूहले काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा बचत तथा ऋण सहकारी संस्था र वीरगञ्जमा सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चलाएको थियो । ती सहकारीमा बचतकर्ताले राखेको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै उनको समूहले नेटवर्किङ व्यवसायमा लगानी गर्यो । हाल सबै सहकारी बन्द हुँदा बचतकर्ताको रकम डुबेको छ ।
जिबी फरार हुँदा सहकारीको तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कोषाध्यक्ष कुमार रम्तेल कारागार चलान भएका छन् । इन्टरपोलले २०८० सालमै जिबीविरुद्ध रेड कर्नर नोटिस् जारी गरेको छ । तर, उनी अहिलेसम्म पनि पक्राउ परेका छैनन् । सिआइबीका प्रवक्ता एिसएसपी शिवकुमार श्रेष्ठले जनआस्थासँग भने, ‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोसम्म जानकारी छ ।’
(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू