बालुवाटारमा एमालेले खोज्यो सुरक्षाको प्रत्याभूति
आज अपरान्ह बसेको सर्वपक्षीय बैठकमा एमालेले सुरक्षाको प्रत्याभूति खोजेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको बैठकमा फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे कुरो चलेपछि एमालेले सुरक्षाको प्रश्नलाई मुख्य रुपमा उठाएको बुझिएको छ ।
विघटित प्रतिनिधि सभाका मुख्य दलहरु नेपाली कांग्रेस,नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित चुनावमा भाग लिने उद्देश्यसहित निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरु सहभागी थिए । त्यसैगरी नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान बिभाग र नेपाली सेनाका प्रमुख पनि उपस्थित थिए ।
छलफलमा एमाले महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पुष्पा भुसाल, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश ज्वाला,रास्वपाबाट शिशिर खनाल र सोविता गौतमलगायत नेताहरु सहभागी रहे ।
एमालेले निर्वाचनमा सुरक्षाबारे विश्वस्त गराउनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक पार्टीले चुनावमा भाग नलिने कुरै नहुने धारणा राख्यो । विशेषगरी सुरक्षा निकायहरुसँग उसले सुरक्षाबारे आश्वस्त हुन खोजेको थियो ।
छलफलमा सहभागी एक जना नेताले भने, ‘सुरक्षा निकायहरुले एमालेलाई आश्वस्त तुल्याउने प्रयास गरे । चार वटै निकायले त्यसमा ढुक्क हुन आग्रह गरे ।’ उनीहरुले सुरक्षाको समस्या नरहेको तर राजनीतिक दलहरुले नै माहौल बनाउनुपर्नेमा जोड दिए ।
टिप्पणीहरू