ओलीलाई मात्रै दोषी देखाएर उम्कन पाइन्छ अरु ?

ओलीलाई मात्रै दोषी देखाएर उम्कन पाइन्छ अरु ?

एमालेको पतन केवल एउटा नेता होइन – एउटा दलको, एउटा आन्दोलनको र हजारौं सपनाको त्रासद अन्त्य हो । हेलिकोप्टरबाट ज्यान जोगाएर भाग्दै गुन्डुको कुनामा शरण खोज्नुपर्ने अवस्था एक रातको घटना थिएन – दशकौंको अहंकार, षडयन्त्र र नैतिक पतनको चरम परिणति थियो । यो पतनको दोष एक्लै ओलीको अहंकारमा मात्र खोज्नु अन्याय हुनेछ । पतनको यात्रा तब शुरुभयो जब एमालेका हजारौं कार्यकर्ताले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर व्यक्तिपूजाको वेदीमा आफ्नो विवेक बलिदान गरे र गलतलाई गलत भन्न नसक्नेगरी कायर मौनता साँधिरहे । जब आफूमाथिका गम्भीर भ्रष्टाचार र अनियमितताका संवेदनशील फाइलहरू खोलिएको खबर आयो, ओलीले विपक्षी कांग्रेससँग अप्राकृतिक गठबन्धनको कुटिल चक्रब्युह रचना गरे । पोहोर असार १७ को त्यसै मध्यरातले नेपालको राजनीतिक इतिहासमा अँध्यारो युगको सूत्रपात गर्‍यो । यो केवल अप्राकृतिक गठबन्धन थिएन – न्याय, पारदर्शिता र जवाफदेहिताको हत्या गर्ने षड्यन्त्र थियो । अख्तियार, न्याय क्षेत्र र सबै नियामक निकाय आफ्नो खल्तीमा ल्याएका ओलीलाई कांग्रेससँगको घातक लगनगाँठोले मनपरी गर्ने सम्पूर्ण लाइसेन्स हातमा थमाइदियो ।

शक्ति र अहंकारले अन्ध फ्रान्सका सम्राट लुई १६ जस्तै, ओलीलाई पनि भ्रम भयो – ‘आफू नै राज्य हो, आफ्नो इच्छा नै परम दैवी कानुन हो ।’ तर इतिहासले तत्कालै सम्राट लुईलाई के सजायँ दियो सामान्य हेक्का राख्न पनि उनले जरुरी ठानेनन् । भुटानी शरणार्थी काण्डदेखि लिएर अनगिन्ती जघन्य अपराधका अनुसन्धानहरू जबरजस्ती रोकिए । आफ्ना सबैलाई निर्दोष ठह¥याइयो, विरोधीहरूलाई जालसाजीपूर्वक फसाइयो । न्यायको बाटो बिग्रियो, सत्य लुकाइयो, अपराधीहरूले संरक्षण पाए । यस्तो भयावह नैतिक पतनमा पनि कार्यकर्ता पंक्ति बिल्कुल मौन रह्यो, मानौं सबै उचित र ठीकठाक छ । उता जनतामा लोकप्रिय र आशालाग्दा सबैसँग प्रधानमन्त्री जस्तो गरिमामय पदको व्यक्ति आफै खुर्ची खेल्न मैदानमा उत्रिए । प्रोटोकोल भुलियो, मर्यादा त्यागियो र गरिमा धुलोमा मिसियो । ती सबैलाई दुःख दिने, अपमानित र हतोत्साहित गर्ने जुन निम्नस्तरका खेलहरू खेलिए, त्यसले स्वयम् ओली र एमालेको प्रतिष्ठालाई धुलोमा मिलाउँदै गएको वास्ता गर्न आवश्यक ठानिएन । संसद र सडकबाट उठेका सशक्त आवाजहरू पूरै नजरअन्दाज गरिए ।

आफ्ना उहिल्यैदेखि स्वार्थ जोडिएका ठूला उद्योगी, व्यवसायी र काला व्यापारीलाई फाइदा पुर्‍याउँदै अर्बौंको कर माफी÷छुट दिने, विद्युतको बक्यौता नतिर्न उचाल्ने समेतका घिनौना हरकतले राज्यकोषलाई ठूलो नोक्सान पुर्‍याइयो । कठोर अनलाइन मिडिया निर्देशिका ल्याइयो, आलोचक सञ्चारमाध्यम दबाइए, स्वतन्त्र पत्रकारहरूलाई प्रतिशोधपूर्वक गिरफ्तार गरियो । त्यसमाथि अझ सोसल मिडियालाई सत्ता स्वार्थको चौघेरामा सीमांकन गर्न दर्ताजस्तो प्राविधिक बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्ने घृणित लोकतन्त्र विरोधी कदम चालियो ।

धेरैले भन्छन्, देशमा कुनै यस्तो भ्रष्टाचार र अनियमितता छैन जसमा केपी ओलीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नहोस् । यति, ओम्नी, बतास, भट्ट र अन्य सबै बदनाम कम्पनी, माफिया, ठेकेदार र कालाबजारियासँग उनको नाइटो जोडिएको पटकपटक चर्चामा आएकै छ । पार्टीभित्रको दबाबले चुच्चे नक्सा अगाडि बढाएका ओलीको सधैं देशका अमूल्य सम्पदा विदेशीका चरणमा बुझाउनेमै अग्रणी भूमिका रहेको छ । प्रचण्डको सरकार ढालिदिएमा अमेरिकी खतरनाक रणनीतिको एमसीसी पारित गर्ने जिम्मेवारी आफ्नो हुने वचन दिने उनको राष्ट्रवादी मुकुण्डो पनि उदांगो भएकै हो ।

झापाली चियाबगानको नाटकीय सट्टापट्टामा अर्बौंको खेल भयो । ओली प्रचलित कानुन नै बदल्ने हदसम्म उत्रिए । अदालतको निषेधाज्ञाविरुद्ध गई अध्यादेश जारी गर्ने र दलगत ह्विपको बलमा विषयगत समितिको छलफलमै नपठाई संसदबाट फास्ट ट्र्याकमा निर्णय गराउन जोरजुलुम गर्ने उनको यसमा के स्वार्थ हो, छर्लंग छ । यसबाहेक, ठेकेदारले स्वयं कबुल गरेका बोलकबोल रकममा अर्बौं घटाएर सम्झौता गर्ने, स्वार्थसिद्धिका लागि विनियम र नियमावली फेर्नेदेखि सञ्चालक समिति नै बदलेर घाँटी जोडिने कम्पनीलाई ६ वर्ष म्याद छँदै सम्झौता नवीकरण गर्ने जस्ता अनेक चमत्कारी कीर्तिमान उनकै करकमलबाट सम्पादन भएका छन् ।

आफ्नो सबै सम्पत्ति राष्ट्रलाई सुम्पिएको लिखतबिनाको झुटमुट घोषणाले सहानुभूतिको भोट बटुल्न चतुर उनी भ्रष्टाचारबाट आर्जित अकूत सम्प्पति कम्बोडिया र अन्यत्र पु¥याउन र केही आफ्ना विश्वस्तसँग लुकाउन औधी सिपालु भएको धेरैको दाबी छ । यस्तोसम्म हुँदा पनि कार्यकर्ता उनलाई रोक्न होइन, बरु उल्टै उक्साउन र आक्रामक भजन गाउनमा मग्न रहे । अझ दुर्भाग्यपूर्ण मोड तब आयो जब यो गठबन्धन बेलायत र अमेरिकाको जस्तै दुई दलीय पद्धतिमा जाने भन्दै बाँकी सबै विपक्षी दल, व्यक्ति र शक्तिहरूलाई नामेट र सखाप पार्ने खतरनाक अभियानमा खुलेआम जुट्यो । पार्टीभित्र यस्तो आत्मघाती यात्राको लेशमात्र पनि प्रतिरोध भएन ।

अब उनी माओवादी, जसपा र नेकपा एससहित अरू सबैसँग सम्बन्धित कुन–कुन मुद्दा कतिबेला ब्युँताएर सिध्याउने र आफू चक्रवर्ती शासक बन्ने भन्ने विषालु क्याल्कुलेशन साथ षड्यन्त्र गर्नथाले । विरोधीप्रति उनको कटाक्ष झन् तुच्छ, निम्छरो र अराजनैतिक हुँदै गयो । प्रश्न गर्ने र अनियमितताको विषय उठाउने आफ्नै पार्टी कार्यकर्तालाई दुश्मनी साँध्दै निष्कासन र सदस्यता निलम्बनसम्म गर्न हच्किएनन् । बिहानसम्म चाटेको मान्छेलाई प्रश्न गरेकै भरमा बेलुका नहुँदै चिथोर्न र अन्तिम मारक अस्त्र प्रहार गर्न उनलाई कत्ति सङ्कोच हुँदैन भन्नेकुरा पुराना सबै अन्तरंग सहकर्मीहरूलाई दरकिनार गरी कसरी राजनीति सकाएका छन्, त्यत्ति मात्र हेरे पुग्छ ।

स्थिति यस्तो बन्यो कि एकताका ओलीको प्रशंसा गरेर नथाक्ने युवाहरू नै अब उनी उपस्थित कार्यक्रममा चर्का नारा लगाउँदै आक्रामक विरोधमा उत्रिए । जनाधार भत्किइसक्दा पनि ओलीले उडन्ते हवाई गुड्डी हाँक्न र कार्यकर्ताले ताली बजाउन छोडेनन् । ओली झन् हौसिँदै २ कार्यकाल र ७० वर्षे उमेर सीमा हटाउने जस्तो स्वार्थप्रेरित कदम चालेर एउटा रकमी फटाहाभन्दा पनि घटिया स्तरमा झरे ।

भदौ २३ को घटना नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा शर्मनाक र त्रासदीपूर्ण अध्याय बन्यो । आन्दोलनकारी कलिला उत्साही युवाहरूमाथि गोली दाग्न आदेश दिने र आन्दोलनलाई बन्दुकले जवाफ दिने क्रूर र अविवेकी निर्णयले छिनभरमै २ दर्जन युवाको शहादत भयो, हजारौं घाइते भए । दोस्रो दिन २४ गते मध्यान्हसम्म पनि ओली सुरक्षा बलहरूलाई जुनसुकै मूल्यमा आन्दोलन काबुमा राख्न उर्दी दिने र थप युवा हताहत गर्न तयार थिए । जब सुरक्षा बलले इन्कार गर्‍यो, उनले युवा सङ्घलाई फिल्डमा उतार्ने दुर्भाग्यपूर्ण जमर्को गरे ।

तर, घटनाक्रमले २४ घण्टाभित्रै उनी राजीनामा गरी सेनाको मद्दतले भाग्न बाध्य भए । यसरी शक्तिको दुरुपयोग, उन्माद र नैतिक स्खलनको एक वर्षे विनाशकारी श्रृंखलापछि प्रम ओली पतनको गहिरो खाडलमा पुगे । तर उनी रोकिएनन् बरु आफूमाथिका अनेक भ्रष्टाचार र २३ गतेका जघन्य मानवीय अपराधमा हुने कारबाहीलाई रोक्न नयाँ रणनीति अपनाए । देशभरका आपराधिक पृष्ठभूमिका लठैतहरू बटुलेर गुन्डुमा प्रकट भई सबैलाई धम्की र चुनौतीको गाईजात्रा देखाउन थाले । उनी निजी हितका लागि सिँगो पार्टीलाई थप अलोकप्रिय पार्दै एउटा गौरवशाली इतिहासलाई दुर्घटना र विसर्जनको गर्तमा धकेल्दै छन् । कुनै बेला राजतन्त्रविरोधी आन्दोलनलाई बयलगाडा भनेर खिसिट्युरी गर्ने यस्तो व्यक्ति काकतालीले लोकतन्त्रलाई हत्केलामा नचाउने विदूषक बन्न जानु देश र जनताकै दुर्भाग्य हो ।

मान्छेहरू भन्छन्– ओलीमा दुर्योधनको अहङ्कार, शकुनीको कुटिलता, गोयबल्सको प्रचार शैली, सिसिफसको मूर्खता, रास्पुतिनको रहस्य र इदी अमिनको क्रुरता एकीकृत रूपमा छ । भनिन्छ, झुटो कुरालाई ठ्याक्कै साँचो जस्तो बनाएर श्रोतालाई गुमराह गरी बहकाउन ओलीजस्तो सिपालु र कुटिल मान्छे यस धर्तीमा हालसम्म अर्को जन्मिएकै छैन । उनका लागि आफ्नो निजी हित मात्र सत्य र बाँकी सबैकुरा असत्य हो । झुट र भ्रष्टाचारको यस्तो विराट मूर्तिले ‘भ्रष्टाचारीको मुखै नहेर्ने’ सम्मका भाषण छाँट्दा पनि उनलाई कत्ति लाज हुँदैन । ‘अरिंगाल बनेर झम्टिनु’, ‘काठमाडौंको सडक युवा सङ्घको नियन्त्रणमा हुनुपर्छ’, ‘फरक्क फर्केर दिनु....’ जस्ता थुप्रै अराजक र असहिष्णु आदेशदेखि हालैको ‘मलाई बयान दिन जाने व्यक्ति ठान्या’ छ ?’ जस्ता बोलीले उनको राजनैतिक संस्कार राम्ररी देखाउँछन् ।

उनका लागि कानुन, संविधान र मर्यादाको केही अर्थ छैन, जे बोली छुट्छ, त्यही कानुन हो । बोलिको हेक्का र कसैप्रति सम्मानको त यिनमा अंश पनि छैन । उनका फोस्रो अहम् र झुसिलो डकारले सबैका कानमा विष मात्र भर्छन् । उनको हातमा जबजब शक्ति पुग्छ, लोकतन्त्रलाई ठोकतन्त्र बनाउँछन् र देशलाई अनन्त द्वन्द्वमा धकेल्छन् । समय र देशले बिस्तारै लय समातेर अघि बढ्न खोज्दैछ तर ओली कांग्रेससमेत बोकेर फेरि पुरानै अन्धकार फर्काउन कन्दनी देखिको तागत लगाउँदै छन् । आज देश द्वन्द्व र संकटको मझधारमा इतिहासकै गम्भीर मोडमा मात्र छैन मुलुकभर पार्टीबाट पलायनको क्रम तीव्रतर बन्दै गएको पृष्ठभूमिमा पार्टीको ११ औं महाधिवेशन आह्वान भएको छ । पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी पुराना त्यागी नेताहरूको धुवाँधार विरोधमा लठैतहरू उतार्ने र खुइल्याउने अभियानै चालिएको छ । त्यसैले पार्टीलाई वैचारिक, नैतिक र राजनीतिक शुद्धीकरणको बाटोबाट पुनर्जीवित, पुनर्संगठित गरी बचाउने कि ऐतिहासिक गौरवपूर्ण इतिहासलाई यसरी नै समाप्तिमा जान दिने, यो गहन ऐतिहासिक जिम्मेवारी अब सच्चा र इमानदार नेता–कार्यकर्ताको काँधमा आएको छ । गल्ती दोहोर्‍याउने र पछुताउने यही अन्तिम अवसर पनि हुन सक्छ ।

टिप्पणीहरू