ओली न हुन्,दूधको झिङ्गा बनाइरहन्छन्
नेकपा एमालेको संस्थापन खेमामा विद्रोह भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीदेखि ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठ,राजेन्द्र गौतम हुँदै अग्नि खरेल र गोकुल बाँस्कोटासम्म पनि अध्यक्ष केपी शर्मा ओलीको टिमबाट बाहिरिएका छन् । ओली,पद्मा अर्याल र पृथ्वीसुब्बा गुरुङबाहेक धेरैजसो चुनावमा जित्न नसक्ने पात्रका रूपमा चिनिन्छन् ।
पार्टीको आन्तरिक समीकरणमा निरन्तर ओलीलाई साथ दिँदै आएका ज्ञवाली महासचिवको आकांक्षी थिए । तर, शंकर पोखरेललाई नै दोहोर्याउन खोजेपछि एक हप्तादेखि नै असन्तुष्ट रहँदै आएका उनले उपाध्यक्षको प्रस्ताव अस्वीकार गरी केन्द्रीय सदस्यमा मात्रै मनोनयन दर्ता गरेका छन् ।
पार्टी संगठन र कार्यकर्तामा भिजेका ज्ञवालीले ओलीको प्रतिवेदन लेख्ने,वाचन गर्ने,विज्ञप्ति निकाल्ने सबै जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसकारण उनलाई यसपटक महासचिव मा उठाइने रहर र चर्चा दुबै थियो । तर, शंकरका लागि ओलीले अडान लिएपछि उनी भृकुटीमण्डपबाट आँशु खसाल्दै बाहिरिएको देखिएको छ ।
यता,शिक्षामन्त्री भएका बेला 'केपी ओली इज केपी ओली' भन्दै भाइरल भाषण गरेर चर्चामा आएका कृष्णगोपालले कित्ता फेरेका छन् । ओलीको लिष्टमा केन्द्रीय सदस्य रहेका उनी ईश्वर पोख्रेल प्यानलबाट सचिव उठेका छन् ।
एमालेमा के प्रवृत्ति हुर्किएको होला ? आफ्नै घर डढेकोसमेत चिन्ता नगरी 'त्वमेव माता च पिता त्वमेव' भनेर हिँडेका छन् । रातको चिसोमा महाधिवेशन प्रतिनिधिहरू नाचगान त गरिरहेका छन्, तर मन मिल्नेहरू आपसमा गफिंदा यस्तो प्रश्न गरेको सुनिन्छ,तर तिनको आवाज भने झिनो छ ।
अग्नि खरेल संस्थापन पक्षमा नअटाएका अर्का नेता हुन् । ओली अघिल्लोपल्ट प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता र कानुन मन्त्री रहेका उनले सचिव पदमा उम्मेदवारी दिएका छन् । खरेललाई ओलीले केन्द्रीय सदस्य बनाउन खोजेका थिए ।
त्यस्तै,ओली प्यानलबाट सचिव उठ्न चाहेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोकुल बाँस्कोटा ईश्वर प्यानलबाट सचिवमा उठेका छन् । पछिल्लो समय ओलीतिर लागेका तर संस्थापनको प्यानलमा नपरेका रघुजी पन्तले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीलाई हरेक अप्ठेरोमा साथ दिँदै आएका नेताहरू नै यसरी विद्रोहमा उत्रिएपछि नेतृत्वमा प्रतिष्पर्धा रोचक हुने देखिएको छ । प्रदीप ज्ञवालीले जस्तै विष्णु पौडेल र पिएस गुरुङले पनि साथ छोड्ने अवस्था आए तेस्रो कार्यकाल अध्यक्ष चुनिने तयारीसहित मैदानमा ओर्लिएका ओलीलाई अप्ठेरो पर्नसक्ने आंकलन भैरहेको छ । तर ती दुबै चट्टानी अडानमा छन् ।
एमालेको आन्तरिक राजनीतिमा विष्णु र पिएसको महासचिव शंकरसँग देखिने तहमा द्वन्द्व छ । पिएस आफैँ महासचिवको दावेदार भए पनि प्रदीपका लागि पछि हटेका थिए । तर, पछिल्लो विवादसँगै ईश्वर प्यानलबाट महासचिव उठेका सुरेन्द्र पाण्डेको पल्लाभारी हुनसक्ने महाधिवेशन प्रतिनिधिहरूले अनुमान गरेका छन् ।
एमालेमा के प्रवृत्ति हुर्किएको होला ? आफ्नै घर डढेकोसमेत चिन्ता नगरी 'त्वमेव माता च पिता त्वमेव' भनेर हिँडेका छन् । रातको चिसोमा महाधिवेशन प्रतिनिधिहरू नाचगान त गरिरहेका छन्, तर मन मिल्नेहरू आपसमा गफिंदा यस्तो प्रश्न गरेको सुनिन्छ,तर तिनको आवाज भने झिनो छ ।
टिप्पणीहरू